Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Thursday, February 16, 2012

पग्ला कुकुर

  • डी.के.वाइबा
नानीहरुलाई सडकमा खेल्न नदिनू
पग्ला कुकुर निस्केको छ
होशियार ! जुनसुकै बेला टोक्न सक्छ।

आँखा निक्खुर रातो छ
पुच्छर तल झारेको छ
राल तप ! तप !! तप !!! चुहाउँदै कुदिरहेछ जताभावी।

दिमाग छ तर छैन बराबर
बिचार अस्थिर छ
पाइलाहरु अस्थिर छन्‌।

पानी देखाएर तर्साउन नखोज्नू
यो हाईड्रो फोबिया होइन
यो त आफ्नो अस्तित्व बचाउन पग्ला बनेको हो
त्यसर्थ याद गर्नु
यसले कुनै पनि क्षण टोक्न सक्छ
याद गर्नु ! सडकतिर जताभावी नहिड्नू। 

मान्छेको बस्तीमा धावा बोल्दै निस्केको
पग्ला कुकुरहरुको जमात बड्दैछ
याद गर्नू
टोकेर आफ्नो जमातमा तान्न सक्छ
पानी देखाएर भगाउन नखोज्नू

यो हाईड्रो फोबिया होइन।

बरु रॉंको बालेर
मौका परे थुतुनामा पोलिदिनू
झीर तताएर आँखा फोरिदिनू
किन कि यो पग्ला कुकुर हो
कुनै क्षण तपाईँलाई पनि टोक्न सक्छ ।

Monday, February 13, 2012

के नै पो गर्छस्‌ र तैंले?

  • भूपेन्द्र सुब्बा।

के नै पो गर्छस्‌ र तैंले?
मुख सिलाई दे
बोल्नु छोड्‌दिनँ अन्त

कान बुच्चाई दे
कराउनु छोड्‌दिनँ

आँखा थुनिदे
देख्न मरे छोड्‌दिनँ

तेरो पाखण्डी अनुहारको
नाङ्गो नक्सा त म
आँखा चिम्म गरेरै बनाइदिन्छु।

के नै पो नाप्छस्‌ र तैंले?

तँलाई थाह छैन
म को हुँ

तैंले टेकिरहेको भुइँको
घॉंस हुँ

आगो लगा कि डढेलो सल्का
तर भुइँमुनिको जराबाट
तेरो रावण-कथा भन्न
म पटक पटक उम्रिरहने छु

हेर्‌ मात्र तैंले
बिजुवाको आँगमा सोगा उत्रेर
सत्ये सत्ये अब
के के पो बक्दिनँ र !
(कालेबुङमा च्यानलहरू बन्द गरेपछि। गणतन्त्रको निम्ति भूपेन्द्रको कविता)
बिजनबारी

Friday, January 27, 2012

गाउँ र शहर

  • मिलन वान्तवा


गाउँको नेगेटिभ बोकेर हिँडिरहने शहर
आवश्यकता अनुसार प्रिन्ट निकालिबस्छ कवितामा
शहरले खिचेको गाउँको नक्शामा
समेटिनै सक्दैन गाउँको मन।

गाउँको रुखमा चराले लाएको गुँड
भत्काइरहन्छ छुल्याहा केटाकेटीहरु
तहसनहस भएको आफ्नै अनुहार हेरेर
लाचार मुस्कुराइबस्छ गाउँ ।

भालेको डाकसितै कोइलीले अलापेको राग
गाउँकै भाकामा सुनिन्थे उहिले
विश्व-बजारको हिसाब-किताब सुनाइबस्छ
अचेल गाउँका गीतहरु ।

गज्जबले तिर्खाएको गाउँ
पधेराको रसिलो पानी
धीत मरुञ्जेल पिउँछ सपनामा ।

कुतकुतीहरुको ह्यङओभर मेटाउन
कुनै तरुणीको बैँससित इत्रीन खोजिबस्छ
भर्खरै ईन्टरनेटमा पोर्नोसाईट हेरेर फर्केको गाउँ ।

शहरले गाउँ बेचेको कथा सुनेर दिक्कै बन्छ
अनि सङ्कल्प गर्छ शहरलाई बेच्न
शहरमा आफैलाई बेचेर निर्धक्क सुत्छ गाउँ।

हरदम बिक्री भैरहन्छ
लेबल टाँसेर राखिएको गाउँको नक्शा
शहरको शोकेशभित्र गाउँको भूगोल तर शहरले बुझ्दैन
शहरको ईतिहास डल्लै थाहा छ गाउँलाई ।

Friday, January 20, 2012

हर्कबहादुर

  • राजा पुनियानी


कुन दिन बन्द हुने हो त
हाम्रो कमान चाहिँ-
दिन गन्दै बसेको हर्कबहादुरसँग
अस्सीको चिह्नारीको लड़ाइँमा
झण्डै गएको एउटा अधमरो ज्यान छ

झण्डै लुटिएकी एउटी लुती स्वास्नी छे
र झण्डै जलेको चुपचाप घर छ

गाईलाई बिहान घाँस ल्याइवरि
कमान जानअघि
एकपटक छोरीको अनुहार हेर्छ

साँझ घर आउनअघि
बैदारको हेपुवा अनुहार हेर्छ

दिनभरि हर्कबहादुर
चियाका गाछहरूसँगै हुन्छ
ऊ देख्दैन चियागाछको अनुहार
चियागाछमा सधैं हर्कबहादुर
हेपाइ, हप्की र गाली मात्र हेर्छ
चियागाछमा उ बरू बड़ेमानको ताला देख्छ
हतियारझैं ढुङ्गा देख्छ
खिया लागेको खुकुरी देख्छ
पुरानो धनुकाँड़ देख्छ

सीतारामको हुटेलमा पाइने झीँगासरिको सिङ्गाड़ा देख्छ
राशनको डौंठे चामलको रातोरातो भात देख्छ
छोराको स्कूलको फी देख्छ
दम बढ़्ने आमाको दबाइको पोका देख्छ
श्रीरामछाप खैनीको गुलाफी प्याकेट देख्छ

हर्कबहादुरको दिन
चियाका गाछहरूसँगै बित्छ
ऊ देख्दैन चियागाछको अनुहार
चियागाछमा हर्कबहादुरले देख्छ

उसको बाजेबोजुको खुन
उसको आमाबाबुको पसीना
उसको आफ्नै हातको ठेला
र स्वास्नीका पटपटी फुटेका औंलाहरू
कुन दिन बन्द हुने हो त
हाम्रो कमान चाहिँ-


दिन गन्दै बसेको हर्कबहादुरसँग
कति-कति झण्डैहरू होलान्
गनिनसक्नु
 •
सुकना

लाज

  • कर्ण विरह

अनुहारको भित्ताभरि
रेखा कोरिएर आउँछ लाज
र कस्सैलाई सुइँको नदिई
सुइत्त भाग्छ।

च्याप्प समाउँछ यसले एकैक्षण
आँखाका दुईटै मुटुलाई।

आदम र हव्वाले बगैँचाको फल खाएकै क्षणदेखि
यसले आफूलाई चिनाएको हो।

आचार्य भरतमुनिको रससूत्रको कापमा
व्यभिचारी भाव बनेर फुलेको छ यो एउटा सुनाखरी।

सुन्दरी ठिटीहरूका गालाको पाखाभरि
सौन्दर्यको रगत बनेर फुलेको छ यो एउटा गुराँस।

सभ्यताको मोटो जीउमा
यसैले भरेका मासुहरू छन् ताजा।

वास्तवमा
यसले देखाउनै खोजेको चाहिँ
शिष्टाचारको विज्ञापन मात्र हो।

यो लाज,
लाग्नु पनि खराब
नलाग्नु झन खराब।

बिजनबारी, दार्जीलिङ

कविता

  • चन्द्र गुरुङ
सम्पन्नता

मानिसका तीन आवश्यकताहरू–
माना,
नाना,
र छाना ।

माना–
अचेल मैले खाने रोटीको स्वाद फर्क छ
बिर्सेँ मैले भोकको मायालु अनुहार ।
...
नाना–
उहिल्यै भन्दा राम्रा राम्रा लुगा लगाउँछु
तर सकेको छैन मनको लोभ छोप्न ।

छाना–
अचेल म अग्लो शानदार घरमा बस्छु
जहाँबाट हेर्दा मानिसहरू साना देखिन्छन् ।

 
गोर्खा नेपाल

कविता

  • भूपाल राई

दुइटा आगो

अगेनामा एउटा आगो
पेटमा अर्को आगो
पैलो बल्दै आ’को राम्रो
दोस्रो निभ्दै गा’को राम्रो
दुनियामा एउटा हैन, सल्किरै’छ दुइटा आगो

पैलो बले चुल्हो जल्छ
जिन्दगीको जहाज चल्छ
तैपनि त्यो चुलैपिच्छे
कहीँ बल्छ कहीँ निभ्छ
पेटैपेटको बीचमा त्यसले
यसरी नै सीमा खिच्छ
भन कहॉं निभेको छ? सबैतिर पेटको आगो
त्यसैले यो दुनियॉंमा सल्किरै’छ दुइटा आगो

दोस्रो बले आँधी चल्छ
जिन्दगीको किनार जल्छ
अगेना र पेटको बीचमा
त्यै पुरानो युद्ध बढ्‌छ
तैपनि त्यो दुइटा आगो
बीचको दूरी मेट्दै हिँड्‌छ
तर कहॉं बलेको छ ? हर चुल्होमा शीतल आगो
त्यसैले यो दुनियॉंमा सल्किरै’छ दुइटा आगो।

काठमाण्डौ।

Thursday, January 19, 2012

कविता

  • मनोज वोगटी
पसीनाको रङ


आफ्नै निधारको पसीना पिएर तिमीले तिर्खा मेटेको
ब्ल्याक टी पिउँदा कसैले अनुभव गर्छ गर्दैन
तिम्रो इतिहासमा चेप्टिएको कुनै पीड़ा ओंठ फुटाएर बाहिर आउँछ आउँदैन
तिम्रो पोल्टामा नै मरेको सपनाको लाशले कफन पाउँछ पाउँदैन
तिम्रो घरको रङ र तिम्रो निधारबाट चुहुने ब्ल्याक  टीले
अन्तराष्ट्रिय मार्केट पाउँँछ पाउँदैन
केही लेख्न नसक्ने तिम्रा करेसामा हुर्किएका लुते अक्षरहरू
अचानक धेरैवर्षपछि बलपूर्वक समययोनीबाट फुत्त फुत्त निस्किएपछि अहिले
खुफिया एजेन्सीहरूको आँखा फारिएको फारिएकै छ।

(तिम्रा खबर बोकेका कविहरू
साइबर सुरूङभित्र घस्रिरहेका छन्‌
समुद्र अचानक थर्किरहेको छ।

तिम्रो पसीनाको रङ
गाड़ा गाड़ा गाड़ा बन्दै गइरहेको छ।)

चियाबारी कोपर्ने तिम्रा नङलाई लिएर अचानक
कन्फिडेेन्सियल सिम्पोजियम चलेको चलेकै छ
खिएका तिम्रा नङको निम्ति नङपलिसको बट्टामा महत प्याकेज खॉंदेर
तिम्रो उपस्थितिको सत्ता र
तिम्रा बगाने अक्षरहरूको जिउको नाप लिनेवाला छ।

केही त हुनेवाला छ
नत्र किन चल्मलायो ढुङ्गे अक्षर तिम्रो थाप्लोबाट?
किन सुसेल्यो तिम्रो पसीनाले अचानक खुशीको गीत?

बॉंसुरीमा किन आयो यत्रो ताकत कि
मादलसमेतले जोरसित गाइरहेको छ चियापातको नयॉं रङलाई।

धेरैवर्षको मौनता फुटेको अण्डाबाट जुन आवाज निस्कियो
त्यसले धर्ती नै हल्लिरहेको छ।

कत्रो भुकम्प चलिरहेको छ तिम्रो मालिकको सभाकक्षमा।
तिम्रो निधारबाट खसेको पसीनाको आवाज
यति शक्तिशाली रहेछ
कि मालिकहरूको अहिले कान फुटेको छ।

याद राख्नु
तिम्रो पसीनाको रङ चिन्न
अहिले तिम्रो पछि सरकारनै लागेको छ।

Wednesday, January 18, 2012

कविता

  • सीताराम काफ्ले
कानेगुजीहरू-1
नसुन्नु जस्तो ढुक्कै केही छैन
सुन्दा भन्दा।

ढुक्क छन्‌ कानेगुजीहरूलाई।
उनीहरू कानकानमा सुरक्षित छन्‌।

कानमा नै सत्ता जमाएर बस्नु उनीहरूको महात्वाकांक्षा।
एकपल्ट पसेपछि निस्कँदैनन्‌।

न त दुख्नुको बोध
न त रुनुको बोध
पिपहरूको समुद्रमा
डुबुल्कि मार्नु उनीहरूलाई स्वर्ग।

चिकित्सकहरू कानेगुजीका दुश्मन।

इयरवेल र हाइड्रोक्टाराइड
डेटोल
केनडिड ओ इयर ड्रप्स-
कुनै समाजसेवी जस्तै मानेर विरोध गर्छ
त्यसको सेवा कानेगुजीको दुश्मन।

कुनै एन्टिसेप्टिक टोनिक खुवाउँदै कानेगुजी पाल्नेहरूको जमातमा
मलाई कान जोगाउन गाह्रो छ।

हल्लाले खाएको यो कान
भाषणले पनि खान्छ
शाशनले पनि खान्छ।
बॉंचेको कानलाई पनि ताकेर बसेका छन्‌
कानेगुजीहरू।


कानेगुजीहरू-2

गोर्खाको कान सबैभन्दा मलिलो छ
जहॉं कानेगुजीहरूलाई बस्न सबैभन्दा सजिलो छ।

कानेगुजीको विरुद्ध
उठ्‌ने सिन्काहरू
धेरैपल्ट भॉंच्चिए
हरेक युग यसरी नै मास्सिए।

हरेक समाजको कान दुख्न थालेको छ
आवाज उठ्यो कि
कुन दुलोभित्र कानेगुजी लुक्न थालेको छ।

कति सुरक्षित कानेगुजी
म मान्छे भन्दा।