Friday, January 27, 2012

गाउँ र शहर

  • मिलन वान्तवा


गाउँको नेगेटिभ बोकेर हिँडिरहने शहर
आवश्यकता अनुसार प्रिन्ट निकालिबस्छ कवितामा
शहरले खिचेको गाउँको नक्शामा
समेटिनै सक्दैन गाउँको मन।

गाउँको रुखमा चराले लाएको गुँड
भत्काइरहन्छ छुल्याहा केटाकेटीहरु
तहसनहस भएको आफ्नै अनुहार हेरेर
लाचार मुस्कुराइबस्छ गाउँ ।

भालेको डाकसितै कोइलीले अलापेको राग
गाउँकै भाकामा सुनिन्थे उहिले
विश्व-बजारको हिसाब-किताब सुनाइबस्छ
अचेल गाउँका गीतहरु ।

गज्जबले तिर्खाएको गाउँ
पधेराको रसिलो पानी
धीत मरुञ्जेल पिउँछ सपनामा ।

कुतकुतीहरुको ह्यङओभर मेटाउन
कुनै तरुणीको बैँससित इत्रीन खोजिबस्छ
भर्खरै ईन्टरनेटमा पोर्नोसाईट हेरेर फर्केको गाउँ ।

शहरले गाउँ बेचेको कथा सुनेर दिक्कै बन्छ
अनि सङ्कल्प गर्छ शहरलाई बेच्न
शहरमा आफैलाई बेचेर निर्धक्क सुत्छ गाउँ।

हरदम बिक्री भैरहन्छ
लेबल टाँसेर राखिएको गाउँको नक्शा
शहरको शोकेशभित्र गाउँको भूगोल तर शहरले बुझ्दैन
शहरको ईतिहास डल्लै थाहा छ गाउँलाई ।

No comments:

Post a Comment