Friday, January 20, 2012

कविता

  • भूपाल राई

दुइटा आगो

अगेनामा एउटा आगो
पेटमा अर्को आगो
पैलो बल्दै आ’को राम्रो
दोस्रो निभ्दै गा’को राम्रो
दुनियामा एउटा हैन, सल्किरै’छ दुइटा आगो

पैलो बले चुल्हो जल्छ
जिन्दगीको जहाज चल्छ
तैपनि त्यो चुलैपिच्छे
कहीँ बल्छ कहीँ निभ्छ
पेटैपेटको बीचमा त्यसले
यसरी नै सीमा खिच्छ
भन कहॉं निभेको छ? सबैतिर पेटको आगो
त्यसैले यो दुनियॉंमा सल्किरै’छ दुइटा आगो

दोस्रो बले आँधी चल्छ
जिन्दगीको किनार जल्छ
अगेना र पेटको बीचमा
त्यै पुरानो युद्ध बढ्‌छ
तैपनि त्यो दुइटा आगो
बीचको दूरी मेट्दै हिँड्‌छ
तर कहॉं बलेको छ ? हर चुल्होमा शीतल आगो
त्यसैले यो दुनियॉंमा सल्किरै’छ दुइटा आगो।

काठमाण्डौ।

No comments:

Post a Comment