- भूपेन्द्र सुब्बा।
के नै पो गर्छस् र तैंले?
मुख सिलाई दे
बोल्नु छोड्दिनँ अन्त
कान बुच्चाई दे
कराउनु छोड्दिनँ
आँखा थुनिदे
देख्न मरे छोड्दिनँ
तेरो पाखण्डी अनुहारको
नाङ्गो नक्सा त म
आँखा चिम्म गरेरै बनाइदिन्छु।
के नै पो नाप्छस् र तैंले?
तँलाई थाह छैन
म को हुँ
तैंले टेकिरहेको भुइँको
घॉंस हुँ
आगो लगा कि डढेलो सल्का
तर भुइँमुनिको जराबाट
तेरो रावण-कथा भन्न
म पटक पटक उम्रिरहने छु
हेर् मात्र तैंले
बिजुवाको आँगमा सोगा उत्रेर
सत्ये सत्ये अब
के के पो बक्दिनँ र !
(कालेबुङमा च्यानलहरू बन्द गरेपछि। गणतन्त्रको निम्ति भूपेन्द्रको कविता)
बिजनबारी
No comments:
Post a Comment