Thursday, January 19, 2012

कविता

  • मनोज वोगटी
पसीनाको रङ


आफ्नै निधारको पसीना पिएर तिमीले तिर्खा मेटेको
ब्ल्याक टी पिउँदा कसैले अनुभव गर्छ गर्दैन
तिम्रो इतिहासमा चेप्टिएको कुनै पीड़ा ओंठ फुटाएर बाहिर आउँछ आउँदैन
तिम्रो पोल्टामा नै मरेको सपनाको लाशले कफन पाउँछ पाउँदैन
तिम्रो घरको रङ र तिम्रो निधारबाट चुहुने ब्ल्याक  टीले
अन्तराष्ट्रिय मार्केट पाउँँछ पाउँदैन
केही लेख्न नसक्ने तिम्रा करेसामा हुर्किएका लुते अक्षरहरू
अचानक धेरैवर्षपछि बलपूर्वक समययोनीबाट फुत्त फुत्त निस्किएपछि अहिले
खुफिया एजेन्सीहरूको आँखा फारिएको फारिएकै छ।

(तिम्रा खबर बोकेका कविहरू
साइबर सुरूङभित्र घस्रिरहेका छन्‌
समुद्र अचानक थर्किरहेको छ।

तिम्रो पसीनाको रङ
गाड़ा गाड़ा गाड़ा बन्दै गइरहेको छ।)

चियाबारी कोपर्ने तिम्रा नङलाई लिएर अचानक
कन्फिडेेन्सियल सिम्पोजियम चलेको चलेकै छ
खिएका तिम्रा नङको निम्ति नङपलिसको बट्टामा महत प्याकेज खॉंदेर
तिम्रो उपस्थितिको सत्ता र
तिम्रा बगाने अक्षरहरूको जिउको नाप लिनेवाला छ।

केही त हुनेवाला छ
नत्र किन चल्मलायो ढुङ्गे अक्षर तिम्रो थाप्लोबाट?
किन सुसेल्यो तिम्रो पसीनाले अचानक खुशीको गीत?

बॉंसुरीमा किन आयो यत्रो ताकत कि
मादलसमेतले जोरसित गाइरहेको छ चियापातको नयॉं रङलाई।

धेरैवर्षको मौनता फुटेको अण्डाबाट जुन आवाज निस्कियो
त्यसले धर्ती नै हल्लिरहेको छ।

कत्रो भुकम्प चलिरहेको छ तिम्रो मालिकको सभाकक्षमा।
तिम्रो निधारबाट खसेको पसीनाको आवाज
यति शक्तिशाली रहेछ
कि मालिकहरूको अहिले कान फुटेको छ।

याद राख्नु
तिम्रो पसीनाको रङ चिन्न
अहिले तिम्रो पछि सरकारनै लागेको छ।

No comments:

Post a Comment