Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Friday, January 27, 2012

कथा

  • वासुदेव पुलामी
हेङ्गओभर

मैले पनि कस्सेर दुई झापट दिएँ।
उपाय केही थिएन मसित। जस्तो भएपनि बोल्नुको भाँति हुनपर्छ मान्छेको। अहिले सामान्य भएको छु- तथापि कन्सिरी तात्तिएर आउँछ उसलाई सम्झँदा।
* * *
बसोस् माइतीको घरमा।
मैले मात्रै रिस पिउनु ? उसले पनि पिओस्।
 रिसले मात्ने बानी होस् उसलाई पनि।
मनले अझसम्म झापट कस्सिरहन्छ – उसलाई।
* * *
झगडा।
झगडा हुनलाई ठूलो कारण चाहिँदैन। कति स-साना कुराले हिर्काउँछ उसले।
उसको कुरा जहिले पनि माथिबाट हुनैपर्छ।
अपत्यारिलो कुराको बहसलाई पनि पचाइदिनुपर्छ।
हद हुन्छ। हददेखि बाहिर कुरा गर्नु त हुँदैन नी।
जब्बरजस्ती र हठीपनको पनि सिमा हुन्छ।
कुन्नि कस्तो दिन र साइतमा उसका बोलीका गोलीले हाम्रो मायाको अग्लो पर्खाल गर्ल्याम्म ढाल्छ।
परिणाम – हप्ता दिन। कोहीबेला महिनादिनसम्म राम्रो सँग बोलचाल नै हुँदैन।
* * *
उफ्।
आज हप्ता दिन पो भएछ। फोन् पनि गर्दिनन्।
आउदिनन् त। मिसकल गरूँ कि सम्झे, होस् गर्दिनँ पनि सम्झै एकैचोटि।
ऐना हेर्छु – केस लामो भएछ। दाह्री खौरन्छु।
उसका रिसहरू सम्झन्छु सबै पग्लिएर चिसो भएको पाउँछु मायाको धङ्धङीले ।
एक्लै हाँस्छु ऐना हेर्दै – आज मेरो चामे हुने दिन रहेछ।

Thursday, January 19, 2012

कथा

  • सञ्जय विष्ट
दोस्रो संस्करणको तयारीमा

बिहाचाहिँ गरेको तर गुरु ट्रेनिङ र मेट्रिकचाहिँ नगरेको सुकुटे, निक्कै सुकुटे; साह्रै होइन तर काले नै; हेर्दै चुर्से-चुर्से अठारको नारायण शर्माले पैँसठी सालको मई महिनामा बिनाअन्तर्वार्ता गाउँकै प्राथमिक पाठशालामा शिक्षकको निम्ति हातैमा नियुक्ति-पत्र पाएका हुन्। पैँसठ सालमा नियुक्ति पाएका नारायण सरले पहिलो महिना अस्सी रुपियॉं तलब पाएका थिए। थापेर आठ-दस रुपियॉं आफूसँग राखेर अरू सबै स्वास्नीलाई दिएका थिए उनले। अर्को महिनाको तलब थापेर ल्याउँदा स्वास्नीले पहिलेकै बाट पनि केही बचाएर राखेकी थिई। त्यसपछि क्रमश: नारायण सरको तलब बढ़्दै आएकै हो। शुरुमा अस्सी रुपियॉं थाो उनले कुनै दिन अस्सी सय रुपियॉं थापिइन्छ तलब भन्ने कल्पना पनि गरेका थिएनन् तर अस्सी सय नाघेर तलब केही माथि पुग्दा पनि नारायण सरले आफ्नो परिवारका सदस्यहरूको जीवन-स्तर अलिकति पनि माथि उठाउन सकेनन्। जेठी छोरी। नारायण सरकी जेठी छोरी। नौमा फेल भई। सरलाई नमिठो छोरी फेल भएकोमा भन्दा पनि सरकी छोरी फेल भएकोमा लागेको थियो। त्यो नमिठोपनले आफूबाट निख्रन नपाई बम बस्तीदेखि मान्छेहरू आए केटालाई पनि साथै लिएर। सरकारी नोकरी गर्ने, ब्लकमा—बुझेर अरू धेर बुझ्न नचाही ‘‘हुन्छ,’’ भनिदिए सरले। तेह्र वर्षअघिको कुरो हो यो। माइली छोरी पढ्दै थिई। राम्रैसित पढ्दै थिई। दसमा थिई एघार वर्षअघि। एक दिन सॉंझ परिसक्दा पनि छोरी घर आइपुगिन। अर्को दिन सॉंझ परिसक्दा पनि छोरी घर आइपुगिन। तेस्रो दिन सॉंझ नपरी दुई बुढ़ाहरूसित दुई अधबैँसे नारायण सरको घर सोध्दै आइपुगे। यो गोपाल, नारायण सरको तेस्रो र अन्तिम पनि सन्तान जो कल बन्द गरेर अहिले अर्कोपल्ट उस्तै आवाज सुन्नलाई पर्खिरहेछ—त्यो समय , त्यो समय भन्नाले सरकी सुधी मानिएकी माइली छोरीले त्यसरी सबलाई छक्क पारेकी समय दिदीचाहिँभन्दा एक क्लास तल नौमा पढ़्दै थियो। ‘‘सरलाई के छ र? दुवै छोरीहरूको बिहे गरी दिइहाल्नु भो। गोपाललाई पछिबाट तपाईँकै काम दिँदा भइहाल्यो नि।’’ हेड सरले नारायण सरलाई भनेको त्यही समयतिर हुनुपर्छ। नारायण सरले हेड सरको कुरा सुनेका थिए। प्रतिक्रियामा केही भनेका थिएनन्। आफ्नो काम छोरालाई दिने कुरो उनले सोचेका थिएनन् त्यो दिनसम्म त्यसैले नदिने कुरो पनि सोचेका थिएनन्। दिनु पर्दैन।—त्यो दिनको त्यही क्षण उनले सोचे। ‘‘कति छ सरको अब?’’ सोधे हेड सरले।‘‘छ अझै। बाह्र-तेह्र साल छ।’’ भनेका थिए शर्मा सरले। ‘‘ए’’ भनेका थिए हेड सरले। त्यति। ‘‘साथीहरूसितै बस्छु।’’ गोपालले बाबुलाई भनेको थियो। ‘‘पर्दैन हरि काकाकोमा बस्।’’ बाबुले कड़ा स्वरमा भने। गोपालले केही भनेन भन्नु नसकेर।‘‘अस्ति भेटेर भनिराखेको छु हरिलाई।’’ पनि भने बाबुले। परीक्षा शुरू हुनुभन्दा दुई दिनअघि शर्मा सर आफैले छोरालाई पर्ने भाइ शहरको हरि शर्माको घर पुर्‍याए। ‘‘इक्जाम राम्रो गर्नू। नघुम्नू धेर।’’ हिँड्ने बेलामा छोरालाई भने। समय पाइए अरू दुईवटा काम गर्ने विचारसित निस्केका थिए शर्मा सर बिहान घरबाट। पहिलो काम ननपाएको निक्कै दिन भएको हुनाले सुगर नपाउने र दोस्रो काम डेढ़ महिनाअघि थाहा गरेको तर हाल दुखाइको मात्रा निक्कै बढ़ेको आफ्नो दाहिने खुट्टा किन दुख्छ डाक्टरलाई देखाएर जान्ने। बजारदेखि थाकेर आइपगेका सरले झोला राखेर आफूलाई चौकीमा बिसाए। केही क्षणपछि मुन्टो मात्रै चुह्लातिर घुमाएर उनले भने, ‘‘नुनकै बनाऊ है।’’ फेरि केही क्षणपछि मुन्टो नघुमाइ भने, ‘‘सुन्यौ?’’ चियासित स्वास्नी आई। ‘‘सौदा निकाल,’’ सरले भने। साना-ठुला केही पोकाहरूपछि एउटा किताब पक्रेर निस्क्यो हात झोलाभित्रदेखि। चारसम्म पढ़ेकी गुरुमाले ‘समयाङ्कन’ पढ़ी अनि चौकीकै सरलाई दिई। हप्ता दिन जत्तिपछि शर्मा सर चौथो श्रेणीका विद्यार्थीहरूसित थिए। ‘‘सन्चबार, आइतबार के गर्छौ तिमीहरू?’’ विद्यार्थीहरूलाई सोधे सरले। उत्तर कस्सैलाई आएन। हेराहेर गरे तिनीहरूले एकाअर्कालाई। ‘‘काम गर्दैनौ घरमा?’’ सजिलो बनाए प्रश्न सरले। ‘‘गर्छौँ सर?’’ प्रायैले भने। ‘‘के गर्छौ?’’ प्रश्न अप्ठ्यारो भइहाल्यो फेरि। प्रश्न दोहोर्‍याए सरले। ‘‘दाउरा खोज्न जान्छु सर।’’ एउटाले भन्यो। ‘‘म पनि जान्छु सर।’’ अर्काले भन्यो। ‘‘सर म पनि जान्छु।’’ ‘‘म पनि...।’’ नजाने एक-दुई मात्र रहे। ‘‘जङ्गलमा’’ सरले भन्न शुरू गरे, ‘‘ढुङ्गामास्तिर, भिरतिर, भुइँमै पनि,’’ दुवै हात अघिल्तिर ल्याए ‘‘एत्रो-एत्रो डल्लो पाउँछ।’’ ‘‘पॉंउछ?’’ सोधे। जबाब आएन। ‘‘पाउँछ।’’ आफैले भने अनि बताए। ‘‘तमर्के भन्छ त्यसलाई।’’ ‘‘देखेको छु सर।’’ तमर्के चिन्ने एउटा उठ्यो। ‘‘अरूले?’’ सबैलाई हेरे सरले। तमर्के देख्ने, चिन्ने आठ-दस हातहरू उठे। ‘‘खोजेर ल्याई दिनू घरमा।’’ भनेर केही क्षण रोकिए र भने ‘‘किताब खोल।’’ चामल बॉंड़्नेे दिन थियो त्यो, त्यो महिनाको। थाहा पाएर विद्यार्थीहरू सबै आएका थिए। त्यो महिना मने पनि होइन, क्विनटले पनि होइन, बिचको मझौला बोरामा चारदेखि घटेर तीन बोरा मात्रै आएको थियो चामल। दोस्रो बोरामा चामल अझ अलिकति बॉंकी रहँदै पङ्क्तिको अन्तिम विद्यार्थीले चामल थापिसकेथ्यो। खोल्नै नपरेको तेस्रोमाथि थोरै रहेको दोस्रोलाई पनि खप्टाएर राखेपछि चारको एउटा केटालाई हेड सरले भने,‘‘ताला लगा।’’ बाह्र-पन्ध्र मिनटको बाटो बिस्तारो हिँड़ेर घर पुगेपछि चौकीमा बसेका शर्मा सरले याद गरे—हिजोको भन्दा थाहा पाउने धेर दुख्दैछ घुँड़ा। ‘‘राम्रो गरेँ,’’ भन्यो घर आएर गोपालले। केही भनेेनन् सरले। सुने खालि। पढ़्नुमा राम्रो छोरामाथि भरोसा थियो सरलाई। फेल होला कि भन्ने सोचेकै थिएनन् सरले। बरू , अब कता पढ़ाउनुपर्ने सोच्दैथे। अब पढ़ाउनुलाई सरलाई शहरै पठाउनुथ्यो छोरालाई। कहॉं राख्नु?—उनी सोच्दैथे। ‘‘साइन्स पढ़्छु।’’ गोपालले दुई-तीनचोटि भनिसकेथ्यो। एक दिन सर शहर गएर हरिकोमा पनि निस्किएर, डाइवेटिक र दुख्ने खुट्टालाई पनि दवाई लिएर आए। त्यसको दस-एघार दिनपछि गोपालको परीक्षा फल आयो। ‘‘सेकेन्ड भएछु।’’ खुशी न खुशी अनुहारको त्यसले बाबुलाई भन्यो। ‘‘अलिक कोसिस गरेको भा फस्ट हुन्थेछस्।’’ खुशी नै अनुहारको शर्मा सरले भने। दुई-तीन दिनपछि शर्मा सरले छोरालाई केही रुपियॉं दिएर फारम भर्न पठाए उँभो पढ़्नुलाई। साथीहरूसित गयो त्यो, त्यो दिन फारम भर्न। काकाकोमा बस्नु मानेन गोपाल। ‘‘बस्दिनँ त्यॉं,’’ आमाचाहिँलाई भन्यो त्यसले। आमाले बाबुलाई सुनाइहाली। ‘‘किन?’’ बोलाएर सोधे छोरालाई शर्मा सरले। निरुत्तर उभिरह्यो गोपाल। ‘‘किन बस्दैनस् काकाकोमा?’’ सोधे फेरि। ‘‘साथीहरूसित बस्छु।’’ भन्यो त्यसले। ‘‘नपढ़्नुलाई?’’ हकारे बाबुले। तर कुनि किन त्यहीँ बस् भनेर कर गरेनन् उनले छोरालाई। कलेज पढ़्नलाई साथीहरूसित एउटा कोठा भाड़ामा लिएर बस्दा दसैँ-तिहार र ठन्डा महिनाको छुट्टीमा बाहेक रुपियॉं सकिँदा-सकिँदा मात्रै घर आयो गोपाल ती दुई वर्षमा। तेस्रो वर्ष कलेज पढ़्नलाई त्यसले त्यसरी घरबाहिर बस्नै परेन। किनभने उच्चत्तर माध्यमिकको परिणाम-पत्रसित आइपुगेको अँध्यारो अनुहारको गोपालले बाबुलाई भन्यो, ‘‘एक सय सोह्रमा 6 पास, सिधै भिक्टिमाइज् हो यो।’’ केही भनेनन् बाबुले। ‘‘रि-एसेसमेन्ट गराउँछु,’’ पनि भन्यो त्यसले। बाबुले केही भनेनन्। वर्षभरि गाउँ घुमेर अर्को वर्ष परीक्षा दिनलाई मात्र गयो गोपाल। दिएर आयो। परीक्षा फल आयो। फेल भएकै आयो। भिक्टिमाइज् भनेन त्यसपटक त्यसले। रि-एसेसमेन्ट पनि भनेन। तेस्रोपटक त्यसले परीक्षै दिएन। उच्चत्तर माध्यमिक अनुतीर्ण गोपाल गॉंउमै हल्लिरह्यो त्यसपछि। गॉंउमा त्यस्तो कुनै पनि वृत्ति थिएन जसमा त्यसले आफूलाई संलग्न गराओस्। अधुरो शिक्षाको त्योसित गाउँदेखि बाहिरिने साहस पनि थिएन। ‘‘पल्टन जान्छु,’’ पनि भन्यो गोपालले एक-दुईपल्ट। बाबुले जवानीको आफूजस्तै शारीरिक गठनको जवान छोराको विचारमा नाक खुम्चाए। पल्टनमा भर्ती हुनलाई प्रत्येक महिना कटकपाहाड़ धाइरहने साथीहरूसँग त्यस विषयमा सोध-खोज पनि गर्‍यो त्यसले। तर साथीहरूले शर्माहरूको भर्ती खुलिएको र खुलिने खबर कहिल्यै ल्याएन। बिजिनेस गर्ने विचार पनि गरेको थियो गोपालले। गोपालले बुझेको बिजिनेस सानु दोकान थियो। विचार मात्रै सुनाउँदा ‘‘पर्दैन त्यस्तो डुब्ने काम’’ भनिहाले बाबुले। ‘‘दोकान नखोल्नू, खान्छ-खान्छ तिर्ने बेलामा कालो पार्छ अनुहार जो पनि। बरू अरू बेपार ठिक गर्नु सक्यो भने।’’ पनि भने बाबुले छोरालाई। तर दोकान खोल्नुबाहेक अरू पनि बिजिनेस हुनसक्छ भन्ने गोपालले बुझेकै थिएन। एउटा कैँया आएर कुचो उठाएर टाटाको टाटा सिलगढ़ी पुर्‍याउँथ्यो। कति नाफा भयो होला भनी त्यो साथीहरूसित बसेर हिसाब गर्थ्यो। अर्को कैँया आएर अदुवा उठाएर उसरी नै सिलगढ़ी पुर्‍याउँथ्यो। थुक्क! यो पनि थिएछ त गरेको भा— गोपालहरू मनमनै भन्थे। अब केही छैन गाउँमा भन्ने लागिरहेको बेला अर्कै कैँयै आएर अर्को व्यापार शुरू गर्थ्यो। छोरामा आफूले देखेको सम्भावना क्रमश: धुमिल बन्दै गएर हराई नै सकेको थियो। त्यसैकारण दुई वर्षअघि बसेँ भने छोराको जीवन सुरूबुरू बित्छ भन्ने सोच बाध्य भएका थिए शर्मा सर। शर्मा सरलाई कतिचोटि पहिले पनि लागिसकेको—परिवारको प्राथमिक आवश्यकताहरूको परिपूर्ति मै महिनाको सम्पूर्ण आय सकिन्छ। प्रत्येक महिना ‘‘अर्को महिना’’ भनेर स्वास्नी, छोरा-छोरीका इच्छाहरूलाई अर्कोपल्ट फेरि मार्नुपर्छ। पहिले छोरीहरू हुँदा र नहुँदामा फरकै छैन।—फेरि लागेर आश्चर्य लाग्यो। प्राथमिक पाठशालाको शिक्षक परिवारको टाउके हुनसक्छ। उत्तरदायित्व वहन गरेर परिवारको, परिवारको लागि बॉंचु सक्छ तर परिवारलाई बचाउनैको निम्ति मात्र—लाग्यो सरलाई। तर घरभित्र र मनभित्र जसरी बॉंचे पनि बाहिर चिन्नेहरूले इज्जतै गर्छन्। केही नहुनुभन्दा आवश्यकताको समुद्रमा इज्जतको च्याङ्ले लाइभ ज्याकेट लगाएर आजीवन आफूजस्तै परिवारलाई पनि घॉंटीसम्म डुबाइरहनु तर बॉंचेर बचाइरहनु ठिक—पनि लाग्यो शर्मा सरलाई। दिइनँ भने धोका हुन्छ होला पछि।—मनमनै भने। दुई वर्ष त्याग्दा छोराको जीवन बन्छ भने दिन्छु।—निश्चयजस्तै गरे। अब आफ्नो दोस्रो संस्करणको तयारीमा लागिहाल्ने निर्णय लिए शर्मा सरले। पाठशाला नगएर एउटा सोमबार तिनी एक के. जी. घिउसित त्यसै सन्दर्भमा जान्नलाई सम्बन्धित कार्यालय गए। घिउ थापेर, आफू बसेर छोरालाई काम दिन के-के गर्नुपर्छ राम्ररी सिकाएर ‘‘यताको त चिनी कि गुँड़ मिसाको हुन्छ। सरहरूको तिर प्योर मह पाइँदैन?’’ विभागीय कर्मचारीले सोधेका थिए। बेलुका घर आएपछि शर्मा सरले बाकस खोलेर, खोदलेर आफ्नो बिमारीसित सम्बन्धित केही कागजहरू झिके। अर्को दिन बेलुकी उनले शारीरिक अशक्तताको फलस्वरूप पेशाबाट अवकाश पाऊँ र सरकारी प्रावधानमुताविक आफ्नो काम छोरालाई दिइयोस् भन्ने निवेदन-पत्रको खेस्रा बनाए। चार-पॉंच दिनपछि पाठशालाबाट फर्किँदा शर्मा सरको हातमा एउटा महको बोतल थियो। त्यसपछि अस्वस्थ शर्मा सर त्यस सन्दर्भमा धेरैपल्ट सम्बन्धित विभागीय कार्यालय गए। धेरैपल्ट झोला झुन्ड्याएर, थोरैपल्ट खाली हात। झोला झुन्ड्याएर कार्यालय पुगेका शर्मा सरले अधिकारीहरूबाट जुन व्यवहार पाए, खाली हात पुगेका उनले संसार स्वार्थमय देखे। यहॉंसम्म कि अघिल्लोपल्ट झोलासितको भेटपछि जसलाई उनले साह्रै जाती मान्छे ठानेका थिए, खाली हातको भेटपछि मान्छे पनि मानेनन्। शर्मा सरलाई त्यही सन्दर्भमा एउटी सही चाहिएको थियो एकजनाको। एउटा पोका झुन्ड्याएर बिहानै पुगे तिनी त्यस महानुभावको घरैमा। देलोमै उभिएर आफू आउनुको कारण बताए उनले। पोका समातेको हात अघिल्तिर बढ़ाए। ‘‘के यो?’’ रिसाएर सोधे महानुभावले। ‘‘अलिकति ... घरकै।’’ ढॉंटे सरले। ‘‘कसले सिकायो तपाईँलाई यसरी आउनु? कसले सिकायो? तपाईँको एति नाथे घिउ खाएर मोटाउँछु मो? लानुहोस्, लगिहाल्नुहोस्, यो।’’ रॉंकिए उनी। शर्मा सरको अनुहार र कानहरू पनि तातिएर आए। तातिएको कान टि...नि...नि...नि...बजे। ‘‘व्यवस्था बिगार्ने तपाईँहरू नै हुनुहुन्छ।’’ बजेकै कानले सुने उनले। इमान्दारी देखाउने मौका पाएछ साला।—मनमनै रिसाए सर। सपनामा जस्तो हिँड़ेर फर्किए सर त्यहॉंदेखि। त्यसपछि अर्को मान्छेलाई भेट्नु जानुअघि शर्मा सर निक्कै घोरिए। एक त पहिल्यैदेखि सुकुटे नारायण शर्मा थप डाइवेटिकको रोगी—हड्डी र छाला भइसकेका थिए। जस-जसले जे-जे खाऊ भन्थे सबै खान्थे, जस-जसले जे-जे नखाऊ भन्थे सबै मान्थे। पकाएको के कॉंचो तितेकरेला कति खाए उनले हिसाब छैन। औपचारिकता निर्वाह गर्न शुरू गरेको चार महिनापछि एउटा सरकारी चिठी आयो नारायण शर्माको नाममा। खोलेर पढ़े उनले। चौबिस तारिख मेडिकलको निम्ति मेडिकल कलेज, सिलगढ़ी जानू भन्ने सूचना रहेछ। यत्तिका लामो अवधिसम्म गरेको पेशाको धुमधाम माया लागेर आयो उनलाई। त्यसै क्षण उनले वर्ष दिनजति पहिले आफू बसेर छोरालाई काम दिने नजिकैको सर सम्झे। अनुभवी तिनै सरलाई मेडिकल साथी जान मनाउने विचार गरे। पाहाड़बाट मदेश झरेका बिरामी सर सिलगढ़ीको गरमले हेर्दै पनि बिरामी देखिने भए। बल्ल-बल्ल पालो आएको बिरामी नारायण शर्मा र उनलाई बिरामी प्रमाणित गर्ने डाक्टरकै कागजहरू हेरेर , हेर्ने डाक्टरले शर्मा सरलाई काम गन एकदमै अयोग्य मानेन। ‘‘आँखा राम्ररी देख्दिनँ।’’ भने सरले। मसुमुसु हॉंसे डाक्टर। ‘‘कान पनि राम्रोसित सुन्दिनँ।’’ भनेर आफूलाई साह्रै दयनीय अनुभव गरे उनले। ‘‘जवाब ठिकै दिनु हुँदैछ।’’ सुनेर बित्थामा भनेछु लाग्यो सरलाई। ‘‘अर्को चौबिसमा आउनुहोस्।’’ डाक्टरले भने र लेखेर पनि दिए। अरू केही भन्नै आएन उनलाई। केही क्षण चुपचाप बसेर तिनी उठे। ‘‘यो मेडिकल बोर्ड तल जानु पनि आन्दोलनकै उपलब्धि हो। दार्जीलिङमा भा एस्तो झन्झट नै नहुने। पहिलाकोहरूलाई खाड़ाले केई नसोधी एकै तालमा गरिदिन्थ्यो अरे।’’ सुनेको सुनाए बाटोमा साथी गइदिने सरले सरलाई। श्रीमतीले तामा पनि पकाएकी रहिछ। तामाको स्वाद बिर्सन लागेको सरले ‘‘हाली देऊ मलाई पनि अलिकति,’’ भने। ‘‘होस् पर्दैन खानु। खुट्टा दुखेर फेरि फत्रक-फत्रक पर्नुलाई।’’ स्वास्नीले भनी। ‘‘नखॉंदा जाती छु र?’’ सर खरो बोले। स्वास्नी अरू बोलिन। डाक्टरहरूको त्यत्रो प्रिस्क्रिसन हेररे पनि काम गर्नु सक्छ भन्छ। सरकारी नियम छ, दिहाल्दा के जान्छ त्यसको—रातभरि सरलाई लागिरह्यो। ‘‘दवाई खान्नँ एक महिनै,’’ सङ्कल्प गरेर बिहानीपख शर्मा सर एक छिन निदाए। भोलिपल्ट उनले दवाई खाएनन्। बरू ‘‘कत्ति बार्नु? नखाई मर्नुभन्दा बरू खाएरै मर्छु।’’ भनेर आमा-छोरालाई अलग्गै पकाएको आलुको तरकारी थोरै खाए। पहिले-पहिले दवाई खानु भुल्छु कि भन्ने लाग्थ्यो शर्मा सरलाई अब नखानु भुल्छु कि लाग्न थाल्यो। आफ्नो बिमार बढ़ेर आउँदो चौबिसमा डाक्टरलाई काम गर्न अयोग्य देखिइएँ भने नमरुन्जेल ढुक्कैले बॉंचिन्छ भन्ने लागेको थियो सरलाई। खाएनन् दवाई उनले। जति-जति चौबिस नजिकिँदै आयो उति-उति अस्वस्थता बढ़्दै आएको थाहा गर्दै थिए उनी। बस्दा, बसिरहँदा पनि थाक्ने, फतक्कै गल्ने भइसकेका थिए। करैले गएर पाठशालाबाट सिधै घर आउँथे। आएर बसिरहन्थे कि त सुतिरहन्थे दिउँसै पनि। स्वास्नीले सोद्धा ‘‘ठिकै छु,’’ भन्थे। प्रतीक्षारत थिए उनी आउने चौबिसको। हिजो तेइस तारिक शर्मा सरले गोपाललाई बोलाएर भने, ‘‘अर्कालाई कति दु:ख दिनु। तैँ हिँड़् भोलि मसित। किरणलाई दुइटा सिट भन् गएर।’’ आज बिहान आमा उठेकी थाहा पाएर गोपाल पनि उठिहाल्यो। रातो घामको अर्धवृत्त डॉंड़ाभित्र थियो। आकाशभरि बादलको एकै टुक्रा पनि थिएन। कतिचोटि सिलगढ़ी गइसकेको गोपालले त्यहॉंको गरमको स्मरण गर्‍यो। स्मरणले नै त्यसलाई त्यो दिन असाध्यै कष्टकर लाग्यो। दॉंत माझ्दै त्यो कलनेर गयो। कल खोल्यो त्यसले। कलदेखि झरेर भुइँमा बज्न थाल्यो पानी। मुख खकाल्यो गोपालले। हत्केलालाई अञ्जुली बनाएर फेरि पानी थाप्दा क्षणभर शून्यता छायो त्यहॉं। त्यही शून्यतामा गोपालले घरभित्र स्वास्नीमान्छे काहालिएर रोएकी सुन्यो। अञ्जुली भरिएर पोखिएर पानीले पुन: बज थालेको थियो भुइँमा। अञ्जुली भत्कायो गोपालले अनि कल बन्द गर्‍यो र अहिले त्यो भयको ठुलो भारी बोकेर अर्कोपल्ट स्वास्नीमान्छेको उस्तै रुवाइ पर्खिरहेछ।

कथा

  •  सञ्जय विष्ट
वर्तमान 

बल्ल अनेक शङ्का -उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो।              सुतेको थियो एउटा शिशु ईश्वरजस्तै । ईश्वर नै।              त्यो आइतबारको घाम लागेको दिन थियो। पन्ध्रको नौ पढ़्ने छोराले दुई दिनअघि नै आफ्नो सेतो कमिज खोलेर गोलसखानमा फ्यॉंकेको थियो । टिपेर आमाचाहिँले धोएपछि आँगनको तारमा सुकाएकी थिई। कार्यालयको झन्झटदेखि मुक्त पदमबहादुर आँगनमै घाम तापिरहेथ्यो । धोएर सुकाइएको कमिजको गोजीमा खैरो दाग देख्यो उसले।              उठेर कमिजछेउ गयो ऊ। पल्टाएर हेर्‍यो गोजीलाई। गह्रौँ मन लिएर फर्क्यो ऊ कमिजदेखि अघि बसेकै बेतको चौकीमा। स्वास्नीलाई केही भनेन। क्रिकेट खेल्न जान्छु भनेर छोरा अघि नै घरबाट निस्किसकेको थियो, हातमा ब्याट पनि बोकेर।              पन्ध्रको आफू सम्झने कोसिस गर्‍यो उसले। त्यो समयको आफूलाई यो समयको उसले स्पष्ट सम्झन सकेन यद्यपि पन्ध्रको छोरासित मनमनै खुब रिसायो ऊ।              आइतबार पनि तनाउपूर्ण भइरह्यो पदमबहादुरको।              झमक्क सॉंझ परेपछि छोरो घर पस्यो।              ‘‘तँ यहॉं आइज।’’ उसले बोलायो त्यसलाई।              आज पनि सधैँजस्तो छोरा घर पसेपछि गोसलखानमा मुख कुल्ला गर्दैथ्यो । अनुहार धुँदैथ्यो।              ‘‘ठुलो भइस् त?’’ अघिल्तिर उभिएको छोरालाई उसले सोध्यो। स्वरमा क्रोध स्वाभाविक थियो।              नबुझेर छोरा अकमक्क पर्‍यो।              ‘‘राम्रो कुरा सिकेछस्।’’ भन्यो बाबुले छोरालाई ।              छक्क परेको छोराले बाबुलाई हेरिरह्यो।              ‘‘भात खाएर पुगेन तँलाई? के-के खानु सिक्दैछस्?’’ हकारेर सोध्यो, सोधेर हकार्‍यो छोरालाई उसले।              यसपल्ट परिवर्तित अनुहारको रङ्गसित छोराले बाबुदेखि दृष्टि फिरायो।              पदमबहादुरले अरू केही भनेन।              ‘‘पैसा नदिनू धेर।’’ अर्को दिन उसले स्वास्नीलाई भन्यो।              ‘‘हन तेरो लुगामा त सिग्रेट पो गनाउँछ त!’’ निक्कैपछि एक सॉंझ आमाले छोरालाई करॉंउदै थिइन्।                            आउनू भन्ने चिठी आएको रहेछ छोराको स्कुलदेखि। त्यो पनि पोष्ट अफिसबाट। छक्क परेको पदमबहादुरले यस विषयमा कसैलाई केही भनेन। आफ्नो अफिस भ्याउने गरी ऊ छोराको स्कुल-अफिस दस बजी पुग्यो।              चिनेको हेडमास्टर र उसले एकाअर्कालाई झन्डै सँगसँगै नमस्कार गर्‍यो।              हेडमास्टरको ‘‘बस्नुहोस्,’’ सँगसँगै ऊ चौकीमा बसिसकेको थियो।              औपचारिकता पुरा भएपछि पदमबहादुरले भन्यो, ‘‘चिठ्ठी पठाउनुभएको पाएँ।’’ उसलाई समयमै अफिस पुग्नु पनि थियो।              ‘‘पछिबाट कुनै प्रकारको जानकारी दिनुभएन भन्नुहोला भन्ने ठानेर,’’ हेडमास्टरले भन्यो।              ‘‘भन्नुहोस्,’’ भन्यो पदमबहादुरले।              चौकीदारलाई बोलाएपछि हेडमास्टरले भन्यो, ‘‘आदित्यको बारेमा केही भन्नु थियो । सोध्नु पनि।’’              पदमबहादुर जान्दथ्यो, त्यो जेसुकै होस् राम्रो निश्चय होइन जो अब भन्नेछन् हेडमास्टरले आदित्यको बारेमा।              ‘‘मैले बाबाको चिठी ल्याउनु भनेको थिएँ। ल्याएन। बिमारी भएँ भन्थ्यो हरेकपल्ट। थिएन होला पक्कै।’’              थिएन।‘‘थिएन,’’ नै भन्यो पदमबहादुरले।              चौकीदारले दुवैको अघिल्तिर टेबलमा भर्खर राखिदिएको रेजिष्टर पल्टायो हेडमास्टरले।              ‘‘मईमा,’’ भन्यो। रोकियो। ‘‘एक्तिस दिनमा सरकारी छुट्टी पॉंच दिन।’’ पदमबहादुरलाई हेर्‍यो।              ‘‘शनिबार र आइतबार आठवटा। आठ, पॉंच तेह्र। स्कुल लागेको अठार दिन।’’ रेजिष्टरबाट फेरि आँखा पदमबहादुरकै निराश अनुहारमा पुर्‍यायो।              ‘‘यहॉं हेर्नुहोस्,’’ हेडमास्टरको दाहिने हातको चोर औँलाले आदित्यप्रकाश देवानलाई छोएको थियो रेजिष्टरमा।              आदित्यप्रकाश देवानदेखि स...र...र...र... तेर्सो सरेको हेडमास्टरको औँलासँगसँगै कुद्यो दृष्टि पदमबहादुरको।              अङ्ग्रेजीको सानो अक्षर ए,ए,ए लेखिएको रहेछ थुप्रै।              हेडमास्टरले चौकीदारलाई फेरि बोलायो। भन्यो ‘‘नाइन बी-को आदित्यप्रकाश देवानलाई बोलाऊ।’’              ‘‘के गर्नुपर्ने अब हामीले!’’ बोलाइमा भनाइ र सोधाइ खुट्याउन गाह्रो थियो।              पदमबहादुर मौन रह्यो। के गर्नुपर्ने अब उनीहरूले—उसलाई थाहा थिएन पनि।              चौकीदारले अफिसमा पुन: प्रवेश गरेपछि भन्यो, ‘‘सर, आदित्यप्रकाश आज एब्सेन्ट छ।’’              पोहोर नौमा फेल भएको छोरा स्कुल जानलाई बिहान घरबाट निस्किएको थियो।              भारी मन बोकेर ऊ अफिसतिर लाग्यो।              मान्छे भएर जन्मिएका पढ़ेकाहरू कत्ति छन् तर काम नपाएर मान्छेजस्तो बॉंच्न नपाएकाहरू। पदमबहादुरले जमाना सम्झ्यो। राजनीतिक दाउपेच सम्झ्यो। अशिक्षित सोझाहरूको दुर्गति सम्झ्यो अनि सम्झेर आफ्नै छोराको सम्भावित अँध्यारो भविष्य आर्द्रता फैलियो शरीरभरि उसको।              भाषण हुँदैथ्यो। सबैले ढॉंटेको बुझिहाल्ने ढॉंट्छन् यिनीहरू— पदमबहादुरलाई अरूहरूलाई जस्तै थाहा थियो। तर सधैँजस्तो घर पुगिहाल्ने हतारको मन नभएको ऊ उभ्नेहरूको माझ उभियो।              घर आइपुगेको रहेछ आदित्य। आमाचाहिँलाई भन्दैथ्यो त्यसले, ‘‘अँ, मार्दैन मलाई लगेन भने?’’              पदमबहादुर घर आइपुगेको दुवैले थाहा पाइसकेका थिए। भनिन् छोरालाई ‘‘बाबालाई भन्। छैन मेरोमा।’’ आमाचाहिँले।              ‘‘के चाहियो?’’ आएर आफूअघि उभिएको छोरालाई बाबुले सोध्यो।              ‘‘पैसा,’’ उत्तरको शैली सुनेर ऊ विचलित बन्यो।              ‘‘किन?’’ खस्रै सोध्यो पदमबहादुरले।              ‘‘प्य्राक्टिकल खाता ल्याउनु भनेको अस्ति नै दुइटा। आजु पनि गाली गर्‍यो सरले। पचास रुपे लाग्छ।’’ सुनेर भॉंचिएको मन फेरि भॉंचियो बाबुको।                            पछिबाट फेरि फेल भएकै रिजल्टसित अर्को स्कुल खोज्नु भन्ने सूचना पनि भएको कागज आयो। बॉंच्दैन, मर्छ। भोलि मर्छ।—भन्ने विश्वासको मान्छे मर्दाकै जस्तो आमा-बाबु दुवैलाई उस्तो दुखित बनाएन त्यसले।              पदमबहादुरले छोरालाई केही पनि भनेन।              बरू ‘‘मर्निङ स्कुल पढ़्छु,’’ आदित्यले भन्यो।              पढ़्दैन यसले—पदमबहादुरलाई थाहा थियो। पढ़ेन पनि आदित्यले।              त्यसपछि भने परिवारका सदस्यहरूदेखि क्रमश: प्रत्येक दिन आदित्य टाड़िँदै गयो। सम्झाएकोहरू नलाग्ने भइसकेको थियो त्यो तर लोकव्यवहार र समयले त्यसलाई पढ़ाउला—बाबु-आमा दुवैले आशा गरेका थिए।              तर यो तीन वर्षले आदित्यप्रकाशलाई खरानी बनाइसकेको थियो; आगो उमेरमा बल्नै नदिई। ज्वाला दन्कनै नपाई, रापिलो भुङ्रो हुनै नपाई तर अन्तिम अवस्था त्यसैको, खरानी भइसकेको थियो त्यो। चिसो खरानी। हिँड़्ने होइन बाजको वेग लिएर आकाशमा उड़्ने उमेरमा धस्रने भइसकेको थियो त्यो जमिनमा। महान् अपराधको जस्तो दण्ड भोग्दैथ्यो त्यो बॉंड़ेर पनि अझ धेर परिवारका प्रत्येक सदस्यलाई । जीवनको युवास्था भार भएको थियो त्यसलाई।              छोराको यस्तो अवस्थाले बाबु-आमा दुवैको ओठको मुस्कान खोसिसकेको थियो। यद्यपि तिनीहरू छोरालाई माया नगर्न त के नगरेको अभिनय गर्न पनि सक्तैनथे। सपनालाई आशाको त्यान्द्रो कतै थियो। पक्कै थियो।              सत्रको जन्मदिनमा छोराको रहर किनी दिएकी थिइन् आमाले।              महिना दिनपछि सोध्दा ‘‘साथीकोमा छ,’’ भन्थ्यो।              त्यही विषयमा दुई-तीनचोटि आदित्यले आमाबाट गाली खानु पर्‍यो।              तर साथीकोबाट त्यो फर्केन।              तरै पनि हप्ता दिनपछि अठार पुग्ने छोरालाई आमाले सोधिन्, ‘‘योपालि के किनिदिनु?’’              ‘‘गिटार।’’              ‘‘पर्दैन गिटार-सिटार । निकाल्न पोहोरको।’’ छोराको इच्छा सुनेर आमा कराइन्।              तर ‘‘फेरि कहॉं हिँड़्नु आँटिस्?’’ त्यसको जन्मदिनको अघिल्लो दिन त्यसलाई आमाले सोधिन्।              ‘‘साथीकोमा,’’ जवाब सधैँलाई यही हुन्थ्यो।              ‘‘पर्दैन। हिँड़् मसित बजार।’’ भनिन् आमाले।              त्यसैले रोजेको किनी दिइन् आमाले गिटार त्यसलाई। नयॉं खोलभित्र नयॉं गिटार बोकेर आदित्य बजारबाटै आमासित छुट्टियो।              बजाउँथ्यो तर कस्तो?—आमा-बाबु दुवैलाई थाहा थिएन। सॉंझमा दुई-तीन साथीहरू जम्मा भइहालेका थिए। गाइरहेका थिए तिनीहरू, गीत होइनजस्तो अङ्ग्रेजी गीत।               लोग्ने-स्वास्नी दुवैले छोरामा धेरै दिनअघिदेखि एउटा कुरो थाहा गरेका थिए—केही दिन सामान्य रहेपछि अचानक छोराको बोलीचाली र व्यवहारमा ठुलै परिवर्तन आइहाल्थ्यो। थोर बोल्थ्यो, बोल्थ्यो के झर्कन्थ्यो खालि। रुखो व्यवहारसँगसँगै विचलित देखिन्थ्यो त्यसलाई मानसिक अनि शारीरिक रूपमा पनि। फेरि केही दिनपछि केही दिनलाई पुरानै सामान्यता फर्किआउँथ्यो आदित्यमा।  त्यस बेला आदित्यको अवस्था सामान्य थिएन। कुनै महान् मानसिक समस्याले जस्तो छटपटी त्यसमा  लक्षित हुन्थ्यो। धेरै दिनसम्म नसुतेको जस्ता आँखा, अस्त-व्यस्त केश, पहेंलो अनुहारमा मसिना फोकाहरू, नाकबाट एकोहोरो पानी चुहुने प्रक्रिया।              पानीले भरिएका राता आँखा उठाएर, त्यसले बाबुलाई भन्यो, ‘‘जुत्ता किन्छु।’’              ‘‘मसित हिँड़्,’’ भन्यो बाबुले।              आमा-बाबु एउटा बिहामा जान तयारी भइसकेका थिए।              ‘‘आफै किन्छु,’’ त्यो रुखो बोल्यो।              ‘‘छैन पैसा,’’ अनुहारको रङ्ग बाबुकै पनि बद्लिसकेको थियो।              ‘‘ठिक छ, खालिखुट्टै हिँड़्छु म। कति सौको प्रेजेन्ट बोकेर जाऊ बिहामा,’’ करायो आदित्यप्रकाश।              धेरै भए खुशीका यस्ता समारोहहरूमा हुनुपर्ने खुशी भएर जान नपाएको पदमबहादुर र उसकी स्वास्नीले सँगै र अलग-अलग पनि। उनीहरूसम्म आइपुग्ने खुशीका लहरहरूलाई बिचमा बॉंध बनेर उभिएको छ आदित्य। खुशीका छालहरूले पहिलेजस्तो तिनीहरूले भिज्नै पाउँदैनन्।              घरको वातावरण अचानक अँध्यारो भइहालेको थियो।              नजॉंदा अप्ठ्यारो हुन्छ सोचेर; ढिलो गरी; मन नगरी-नगरी तिनीहरू बिहेमा गए।              महिना दिनअघि किनिदिएको महँगो जुत्ता त्योसित थिएन। चप्पलमै आदित्य घरबाट निस्किसकेको थियो।              ठुलो सॉंझमा त्यो सिग्रेटको गन्धसित घर पस्यो। पहिला- पहिलाजस्तो घर पसेपछि गोसलखान पसेर मुख धुने, कुल्ला गर्ने बानी त्यसले त्यागिसकेको थियो।              भोलिपल्ट बिहानै गिटारसित घरबाट निस्कन लागेको छोरालाई बाबुले टोक्यो,‘‘कहॉं जॉंदैछस्?’’              ‘‘प्य्राक्टिस गर्नु। साथीकोमा।’’ भन्यो त्यसले।              ‘‘तेरो साथीहरू यहॉं आउनु सक्तैन?’’              ‘‘किन? म जानु हुँदैन?’’ व्यवहार त्यसको छोराको बाबुसितको थिएन।              बाबुले केही भन्नै सकेन। त्यो गयो गिटारसँग।              =यही छोरा। हो, यही छोरा।              बल्ल अनेक शङ्का-उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो। सुतेको थियो एउटा शिशु ईश्वरजस्तै। ईश्वर नै।ळ              तर सधैँभन्दा छिटो, सॉंझ नपरी आदित्य घर पस्यो।              आमालाई हेरेर मुसुक्क हॉंस्यो त्यो।              बिहानको मानसिक छटपटी त्योसित थिएन। शारीरिक आलस्य पनि थिएन त्योसित। भिजेका आँखा, झर्को , उग्रता केही थिएन तर बिहान हातमा झुन्डिएको गिटार पनि थिएन त्योसित।              ‘‘बाबा खै?’’ आमाचाहिँको छेउमा बसेर त्यसले सोध्यो। चेपेको छुर्पीले त्यसको दाहिने गाला बाहिर निस्किएको थियो।              ‘‘किन?’’ सोधिन् आमाले।              ‘‘त्यसै,’’ भन्यो त्यसले।              दुईवटा छुर्पी गोजीबाट निकालेर त्यसले आमालाई दियो।              फेरि दुईवटा निकालेर ‘‘बैनी खै?’’ सोध्यो।              ‘‘साथीकोमा जान्छु भन्थ्यो,’’ भनिन् आमाले।              ‘‘दिउँसो जानु पर्दैन? यति बेला हो जाने?’’ दाजु भयो त्यो।              आमा त्यतिमै खुशी भइन्।              ‘‘बैनी कति वर्ष पुग्यो?’’ छोराको प्रश्न सुनेर आमा छक्क परिन्।              ‘‘तँभन्दा डेढ़ वर्ष सानु।’’ बताइन् उसले छोरालाई।              सामान्य घटना थिएन घरमा त्यो। त्यसैले सधैँजस्तो तर अर्कै कारणले आमा राति छिटो निदाउन सकेकी थिइन। उसले सॉंझको घटना लोग्नेलाई सुनाई।              ‘‘कहॉंबाट पाएछ पैसा त्यसले?’’ पदमबहादुर अझ चिन्तित बन्यो।                त्यसपछिका दुई-तीन दिन आदित्य आफ्नै समयमा घर पस्यो। चौथो दिन हुनुपर्छ त्यस घटनापछिको —त्यो रात परुन्जेल पनि घर पसेको थिएन। आमा-बाबु दुवै र बहिनी पनि मौन त्यसलाई पर्खिरहेका थिए।              पदमबहादुरले आठ बजेतिर ओछ्यानबाटै ढ्याप...ढ्याप... ढ्याप... जुत्ताको आवाज सुन्यो। आवाजले ओछ्यानमा पल्टिएर समाचार-पत्र पढ़्नै नसकिरहेको बाबुको क्रोधले अचानक चरमता प्राप्त गर्‍यो। धेरै वर्षपछि छोराप्रतिको तीन-चार झापटले मात्रै अब त्यो चरमताले सामान्य स्थिति प्राप्त गर्न सक्ने थियो।              बन्द दैलो ढक्ढकियो बाहिरबाट।              ढक्ढकियो।              फेरि ढक्ढकियो।              अनुहार र आँखामा उत्ताप बढ़ेको पदमबहादुर करायो, ‘‘खोल्दे।’’              आमा-छोरी चुह्लामा खाना पकाउँदै थिए। प्लेयरबाट आएको आवाजलाई जितेर आएको बाबुको खस्रो आवाज सुनेपछि छोरी उठी। प्लेयर बन्द गरिहाली र दैलौतिर गई।              ‘‘ए! आउनुहोस् न काका।’’ सुनेपछि पदमबहादुर ओछ्यानबाट उठ्यो।              जान ऊ मानेन। मान्दै मानेन।              स्वास्नीको आग्रहमा ‘‘मारोस् बरू कुटेरै। मरोस्। त्यो मर्‍यो भने हामी बॉंचेहरू बॉंचुन्जेल सन्चोले बॉंच पाउँछौँ।’’ पदमबहादुर करायो।              ‘‘नकराउ, होस् नकराउ, मान्छे हॉंस्छ।’’ स्वास्नीले व्यथित स्वरमा भनी।              ‘‘हॉंसोस्, हॉंसोस्। छोरा भनाउँदोले यसरी...।’’              तर उसको स्वर यसपल्ट स्वास्नीसम्म मात्र पुगोस्; बाहिर नजाओस् घरभित्रदेखि जस्तो अभिप्रायको भइहालेको थियो।              आउने छिमेकी भाइले निक्कै बेर सम्झाएपछि छोराको बाबुले टॉंड़मुनिबाट जुत्ता तान्यो।              ‘‘टर्च बोकूँ?’’ सोध्यो पदमबहादुरले।              ‘‘बोक्नोस् न।’’ भन्यो छिमेकी भाइले।              ‘‘नसुर्ताउनू भाउजू।’’ उसैले भन्यो।              दुवैजना आदित्यलाई छुटाएर ल्याउन थानातिर लागे। लाग्दा दुवैले चिनेका पुलिसहरू सम्झे।              आदित्य छुटेपछि तीनैजना सँगै घर आएनन्। बाबु घर आइपुग्दा छोराको अघिल्तिर बसेकी आमा छोरालाई गाली नगरेर रोइरहेकी थिइन्।              ‘‘किन स्वाङ पार्छौ? पर्दैन रुनु, मचाहिँ यो मर्दा पनि रुदिनँ।’’ कराएर पदमबहादुर आफ्नो कोठामा पस्यो।              सम्भवत: पदमबहादुर आफूभन्दा छोरा नै पहिला मर्छ भन्ने कुरो सोच बाध्य भइसकेको थियो।              ‘‘अब घरबाट निस्किस् भने फर्केर नआइज।’’बाबुले घोषणा गरेको थियो र यही नै आदित्यको निम्ति सजायहरूमध्ये सबैभन्दा ठुलो थियो।              आगोले पोलेको छटपटीमा त्यो दुई दिन घर बस्यो। असाधारण व्यवहार गर्थ्यो त्यो। एक क्षण झोक्रिएर बस्थ्यो। उठ्थ्यो। छटपटिन्थ्यो। कराउँथ्यो र सुँकसुँकाउँथ्यो पनि। मानसिक रूपमा असन्तुलित र शारीरिक रूपमा रोगग्रस्त थियो त्यो।              गएको आइतबार बिहानै हातमा एउटा पानी कागजको झोला झुन्ड्याएर कतै हिँड़्न लागेको छोरालाई बाबुले सोध्यो, ‘‘कहॉं जॉंदैछस्?’’              ‘‘एक छिन।’’ जवान यस्तो थियो। यस्तै हुन्थ्यो त्यस्ता बेलाहरूमा प्रायै।              ‘‘के हो त्यो?’’ बाबुको दाहिने हातको चोर औँला पानीकागजको झोलातिर तेर्सिएको थियो।              ‘‘क्यासेट। सुन्छ अरे साथीले।’’ त्यो झर्कियो।              ‘‘पर्दैन। पर्दैन लानु।’’ खोस्यो झोला पदमबहादुरले।              दसवटा क्यासेट रहेछ त्यहॉं, जम्मै बहिनीचाहिँले थुपारेकी।              अब त्यो कतै गइहालेन। झोक्राएर बस्यो। दुई-तीनचोटि बाहिर-भित्र पनि गर्‍यो। छोराको अवस्था हेर्नुनसक्ने बाबुलाई छोरा सुटुक्कै कतै गइहालोस् , गइरहेको देख्न नपरेर रोक्न नपरोस्।— पनि लागेको थियो। एक घण्टापछि याद गर्दा त्यो भित्र-बाहिर कतै थिएन। पदमबहादुर आमा-छोरीअघि हृदयबाटै चाहिँ रिसाएन।              दिउँसो तयारी भएर बजार जान लागेकी छोरीले ‘‘आमा, मेरो घड़ी देख्नु भो?’’ सोधी ।              सुन्नसाथ मनमा एउटा शङ्का जन्मेर , हुर्केर बलियै भइहालेको भए पनि ‘‘हेर् न राम्रो। टेबलतिर...।’’ उसले भनी।              पाइन घड़ी छोरीले।              अँह, पाइन।              राखेको ठाउँ भुलेको होस्, भुलेकै होस्—मनमा बोकेर छोरीसँग आमाले सिह्रानीमुनि, टेबलमाथि, ओछ्यानतिर हेरिन्। पाइँदैन भन्ने दुवैलाई थाहा थियो।              छोरीको घड़ी नपाएको थाहा पाएपछि पदमबहादुर अझ दु:खी बन्यो। यो दु:ख घड़ी हराएकैमा चाहिँ थिएन।।              ‘‘नभन्नू कसैलाई।’’ स्वास्नी, छोरी दुवैलाई उसले भन्यो।              सॉंझ परेपछि उज्यालो अनुहारको आदित्य घर पस्यो। विषाक्त थियो घरको वातावरण।              ‘‘ना,’’ भन्यो त्यसले बहिनीलाई । हातमा दुईवटा छुर्पी थियो त्यसको। नथापेर बहिनीले आँसु झार्न  थाली। आमापट्टि फर्क्यो त्यो।              ‘‘खॉं तँ आफै।’’ कर्कश स्वरमा आमाले भनिन्।              ‘‘कतिमा, कसलाई बेचिस् घड़ी?’’ रिसाएको बाबुले तर आवाज बाहिरसम्म नपुगोस् सोचेर बिस्तारै सोध्यो।              सुनेर छक्कै परेको जस्तो भयो आदित्य।              तर त्यही अभिनय गरिरहन सकेन त्यसले त्यहॉं। त्यसको अल्पकालीन मानसिक अनि शारीरिक सामान्यताले त्यसलाई दोषी सिद्ध गराइसकेको थियो।              ‘‘सोध यसलाई। कतिमा कहॉं बेच्यो घड़ी यसले। म तिरेर ल्याउँछु।’’ आफ्नो कोठाभित्र पस्दै भन्यो पदमबहादुरले।                            अस्तिसम्म सॉंझ परेपछि तर सामान्य रूपमै घर पस्ने आदित्यमा हिजोदेखि फेरि छटपटी बड़्दै गएको पदमबहादुरले याद गर्‍यो।              आज बिहान पदमबहादुर अफिस जान लाग्दा आदित्य बिहानको मधुरो घाममा झोक्राएर आँगनको डिलमा टुक्रुक्क बसेको रहेछ, शिर पनि निहुराएर।              उभिएर उसले छोरालाई केही क्षण हेरिरह्यो। छोराछेउ गयो ऊ।              ‘‘भित्र हिँड़्।’’ उसले छोराको हात समायो।              निहुरिएको शीर उठेर; पहेंलो अनुहारको; भित्र भासिएका आँसुले भरिएका दुई राता आँखाले उसलाई हेर्‍यो र बिस्तारै उसको हातको सहारा लिएर एउटा मानव आकृति उभियो।              बाबुले समाएको छोराको सानो शक्तिहीन पहेंलो नाड़ी र रक्तहीन हातका रक्तहीन औँलाहरू हेर्‍यो।              शरीरभरि फैलिएको आर्द्रता र छोरा लिएर ऊ घरभित्र पस्यो।              ‘‘बस्।’’ बस्न लगाएर छोरालाई पलङमा छोरासितै टॉंसिएर बस्यो  ऊ पलङमै । हात समातिरहेकै थियो छोराको। समाएर बसिरहूँ यसलाई यत्तिकै —उसलाई लागिरह्यो।              ‘‘के गर्छस् अब?’’ ठिठलाग्दो स्वर बज्यो बाबुको।              जवाब थिएन त्यसको। आएन पनि।              ‘‘मरेको जस्तो कति दिन बॉंच्छस्?’’ बाबुको स्वर कॉंपेको थियो।              अँह, जवाब त्यसको पनि थिएन। हराएको युवा-अवस्था खोजेजस्तो आफ्नै पहेंला खुट्टाको वरिपरि नामको विपरीत आदित्यप्रकाश शिर झुकाएर केही खोजिरहेजस्तो थियो।              ‘‘नखाई सक्तैनस्?’’ सोध्न विवश थियो बाबु।              छोरा मौन रह्यो।              ‘‘घरमै अलि-अलि बरू रम खा, बेलुका-बेलुका। म ल्याइदिन्छु तर...’’ भनेर एउटा लाचार बाबुको अवस्थामा पदमबहादुर आफै छक्क पर्‍यो।              दुईवटा पहेंला हातहरू उठेर आँखासम्म पुगे। अनिच्छापूर्वक उठ्यो पदमबहादुर हात छाड़ेर छोराको र अफिस जानलाई घरबाट निस्क्यो।                धेरैअघि एकपल्ट पशुपति पुगेर जानेको पदमबहादुरले आज पनि मरेर पनि बॉंचेका घर फर्कन नपाएकाहरूलाई सम्झ्यो। सम्झ्यो—सुनेका मुर्दाहरू श्मसानबाट बौरेर फर्केकाहरू।              कसैले नदेखोस् भन्ने उद्देश्यले अनावश्यक उसले ठुलो ज्याकेट लगाएको छ। ज्याकेटको देब्रेपट्टि ठुलो भित्री गोजीभित्र भर्खर किनेको एक क्वाटर रमको शिशी हालेको छ पदमबहादुरले। समाएको पनि छ उसले छात्तीमा टॉंसिएको त्यसलाई बाहिरबाट दाहिने हातले। एउटा पराजित बाबु तर अझ विजयको आशा र अस्वस्थ छोराको निम्ति औषधि बोकेर यो सॉंझमा अफिसबाट घर फर्किरहेछ।