Friday, January 20, 2012

मनोज वोगटीको स्पर्श

नाङ्गो र भुँई


राम्रै भएछ दालमा नून नलागेको(नहालेको)
दालको वास्तविक स्वाद थाहा पाइयो।

सिक्किमका राम्रा तर चर्चामा नआएका एक कविको मुक्तक डा.हर्कबहादुर छेत्रीबाट निक्कै पल्ट सुनेको हुँ। संरचना कस्तो थियोे मुक्तकको थाहा छैन। त्यसको भावलाई सन्दर्भमा उठाउन यसरी सजाइयो यहॉं।
चश्मा नलगाई केही हेर्नै नसकिने समाजमा नाङ्गो आँखाको कुरालाई जस्टिफाइ गर्नु एउटा युद्ध जत्ति कै हुन्छ। यो मुक्तकको भावले छोइँदा म चश्मा लगाउने कमजोर आँखा भएका ती नै समालोचकहरू सम्झन्छु। कविको, कथाकारको वा सर्जकको कृतिपठन अनि त्यसको व्याख्यायको निम्ति निक्कै विदेशी दर्शन अनि सर्जकहरूको भनाइहरूको सन्दर्भसित नजोड़ी अर्थमा नै आउन सक्तैन कि के हो त्यो पनि जान्दिन। भारतीय नेपाली सर्जकहरूले यतै बसेर, यहॉंकै धुलोमाटोमा हुर्किएर गर्ने सिर्जना वा कृतिको अर्थहरू हेर्नुुपर्दा विश्वका चर्चित ती लामेतॉंत दार्शनिकहरूको दर्शन पो धेरै अर्थमा व्याख्याय हुन्छ कि के हो?
नाङ्गो आँखाले हेर्दा पनि तर दालको वास्तविक स्वाद पाइँदो रहेछ।
कवितालाई हेर्न चश्मा पर्छ त?
यसै पनि कवितालाई हेर्ने चश्माको ब्राण्ड निक्कै छ। म कुन ब्राण्ड चलाउँ? चश्माले हेरेको कविताको वास्तविकता(अर्थ)को आकार वास्तविक नै हुन्छ? नाङ्गो आँखाले कविता देखिन्छ? कविता पठन हुँदै गर्दा मभित्र कुन ब्राण्डले काम गरिरहेको हुन्छ? ओहो, कुन कम्पनीलाई पो सोधूँ!

कवि र पत्रकार एकसाथ हुँदा बटुलिने समयका अव्यवस्थितिले आहात भइबसेको  बेला  एउटा कविता पढ़िरहेको हुन्छु म।
प्रश्न चिह्नहरू
उत्तर पर्खनलाई
कान ठाड़ो पारेर उभिएका
यी प्रश्न चिह्नहरू
????...

तिमीले बलजफ्ती तानेर, तन्काएर सीधा पार्न खोज्दैमा
सीधा हुने होइनन्‌।

यिनीहरू चहान्छन्‌ नाङ्गो उत्तर।


-यो व्यङ्‌ग्य पठनले जत्ति उत्तेजित गराउँछ, त्यत्ति नै गम्भीर बनाउँछ। हॉंस्दाहॉंस्दै उभिएका प्रश्नहरूसित उभिएका भारतीय गोर्खाहरूको नियतिले छेउमा आएर स्पर्श गर्छ। त्यसले छोइँदा कविताबाट आउने गन्ध र सुगन्धले जुन मात दिन्छ त्यसले ठूलो ग्लानी छोड़ेर जान्छ। दखल गरिराखेर अर्थ र सहअर्थहरू हाम्रो उपस्थिति वा कथा जस्तो बाङ्गिन्छन्‌, चेप्टिन्छन्‌। हामीलाई हामी  बन्न नदिन हामीमाथि शाषण गर्ने जुक्ति सर्प जस्तो सल्बलाइबस्छ। हाम्रो पक्षमा उभिएर यति भनिन्छ-
तमीले बलजफ्ती तानेर, तन्काएर सीधा पार्न खोज्दैमा
सीधा हुने होइनन्‌।

तिनीहरू, जस्ले हामीलाई तानेर तन्काएर सीधा पार्ने जुक्ति गरेर उत्तर खोज्ने हाम्रो अधिकारमाथि अतिक्रमण गरिबस्छ, त्यसरी त्यस्तो गेमप्लान गर्ने तिनीहरूनै हुन्‌ त? हामीलाई तल थिचिराख्ने जुक्ति निर्माता वा मास्टर माइण्ड को हुन्‌ त?
कवितामा उभ्याइएका प्रश्नहरूमा हाम्रो अनुहार कति निर्दोष छन्‌। वर्तमानको भुँइ टेकेर उभिएका ती प्रश्नहरू कति नाङ्गो छन्‌?
नाङ्गो छन्‌?
??...
यी हँसियाको नक्शा जस्ता प्रश्नहरूको उपस्थितिलाई तानेर सीधा पार्न सकिन्छ त? पढ्दै जॉंदा प्रश्नहरूको साटो म उभिन्छु। एउटा कवि उभिन्छ, पत्रकार उभिन्छ वा आम मान्छे उभिन्छ। आह! कस्तो सपना दिने प्रश्न चिह्नहरू। कस्तो विपना दिने कविता। कविता ति हामी?
यस्तो कविता लेख्ने कवि हुन्‌ मनप्रसाद सुब्बा। मनप्रसाद सुब्बाका प्रश्नहरू आम मान्छे। आम मान्छेको उपस्थिति। कथा। नियति। वा त विसङ्गति। जसलाई तानतुन पारेर क्यानभासमा शब्दहरूले खिलेर देखाइयो। हेराइयो। वा बुझाइयो। यो कविता कि चित्र हेर्दा अर्थहरू कताकताबाट चुहिबस्छ। खिलेको ठाउँबाट अर्थहरू तप्प तप्प खसिबस्छ। पोक्खिबस्छ। आहाल भइबस्छ।
नाङ्गो हेर्न चहान्छौ हामी। तर उत्तरलाई झोलामा लुकाइन्छ। गिदीमा लुकाइन्छ। ज्ञानहरूलाई जसले मुर्ख बनाएर, गुण्डा बनाएर, अपराधी बनाएर भूलप्रेत जस्तो खेलाइबस्छ। उसले हामीलाई उत्तर कहिल्यै भन्दैन। नक्कली उत्तर देखाएर हाम्रो उठेको प्रश्न जस्तो शीरलाई झुकाइबस्छ। पेलिबस्छ। ढॉंटीबस्छ। छलिबस्छ। लोकातान्त्रिक देशमा भइरहने यस्ता खाले राजनैतिक खेलको शिकार मनप्रसाद सुब्बा र हामी, सर्जक र पाठक दुबै हुन्छ। मनप्रसाद सुब्बाले अक्षरमा खिलेर देखाएको हामीले खेलिरहेको नाटकको समयकथामा, हामीले निभाइरहेको भूमिकामा हामी आउन अघि निर्देशकले हामीलाई हाम्रो भूमिकाबारे हामीलाई कसरी सचेत गराएका थिए त? सोध्न पनि पाइँदैन? उठेका प्रश्नहरूलाई कुटेर, धम्काएर, हतियार देखाएर वा हत्या गरेर, डङ्‌का पिटेर नाङ्गो उत्तर खोज्नेहरूलाई यसरी दिइरहेन सास्ती कुन कम्पनीको प्रोडक्ट होला, कविजी? उत्तर दिन नसक्नु वा नाङ्गिन नसक्नुको विकल्प नै सास्ती हो त? प्रश्नका टाउकोहरू तानेर तन्काएर सीधा पार्ने जुक्ति आफूलाई नाङ्गो देखाउन नसकिएको रोग हो। यो रोग जो बाइफालेद्वारा सर्ने एड्‌स जस्तो हो। हो?
तर नाङ्गो त नाङ्गिनै पर्छ। नाङ्गिनबाट कति भाग्न सक्छन्‌ र। कुनै पनि अर्थ र उत्तर ननाङ्गि धरै छैन। हँसिया जस्ता प्रश्नहरू कति धारिला हुन्छन्‌, इतिहास अघि छ पढ्‌नेलाई। धारिलो छ, छ। भाग्न सकिरहन्छन्‌ के त?
...हँ सक्छौ? सक्छौ के त हौ, ए मस्तान?
तिमी नाङ्गिन सक्छौ सबको सामुन्ने?
नाङ्गोपन नै पो छ के त तिमीसित?
????

हेर, कति दह्रोसित टेकेका प्रश्नहरूले पाइलामुनीका चिसो भुँइ।

No comments:

Post a Comment