Thursday, January 19, 2012

समीक्षा

  • बसन्त बस्नेत
दार्जिलिङको मेनु

 इन्द्रबहादुर राईका कथा पढ्न मनभन्दा बढी बुद्धि सक्रिय गराउनुपर्छ। त्यही भएर आमपाठकबीच उनको चर्चा 'ठीकठीकै' हुन्छ। उनी चिन्तन गर्छन्, लेख्छन्। साहित्यको 'बजार अर्थतन्त्र' सँग उनलाई लिनुदिनु छैन– लाग्छ।
 सञ्चार माध्यममा नयाँ मन्त्रीको चर्चा छ, राईका कथाको हुने कुरो भएन। उनी यसै पनि दार्जिलिङमा बस्छन्। भूगोलमात्रै होइन, मनोविज्ञानले पनि त्यो काठमाडौंभन्दा टाढा छ। तैपनि पछिल्लोपटक छापिएको उनका …प्रतिनिधि कथा' का पाठक भेटिन थालेका छन्।
 राई हरक्षण केही न केही गरिरहेका हुन्छन्। उनको त्यही …केही' गर्ने बानीले तेस्रो आयाम र लीला लेखनजस्ता बाँकी विश्वलाई देखाउन मिल्ने नेपाली चिन्तन दियो। तिनै लेखनलाई आधार बनाउँदै कतिले उनलाई फासिस्ट पनि भन्न भ्याए। साहित्य लेखेबापत् नेपाली साहित्यमा फासिस्टको पगरी झेल्न बाध्य राईपछि को होला?

 …प्रतिनिधि कथा' मा २० कथा संग्रहित छन्। सन् १९६० मा छापिएको …विपना कतिपय' का सात कथा, १९७२ मा छापिएको …कथास्था' का छ कथा र बाँकी लीलालेखन प्रविधि अँगालिएका कथा छन्। …रातभरि हुरी चल्यो, जयमाया आफूमात्र लेखापानी (लिखापानी?) आइपुगी, हामीजस्तै मैनाकी आमा, एउटा विचारको यात्रापथ' आदि …हिट' भइसकेका कथा पनि सामेल छन्।
 राईका पात्रको योग्यता फरक छ। कथानक पनि। त्यसैले उनका कथाको अलग्गै …डिस्कोर्स कम्युनिटी' पनि छ। पप जेनेरेसनले सहजै ग्रहण नगर्ला। भाषाको क्लिष्टतालाई राईको मौलिकता भने फरक पर्दैन। प्रत्येकको आ–आफ्नो बौद्धिक परम्परा हुन्छ। पाठकले राईलाई …कन्सिडर' गरेका होलान्। कतिपय कथा बु‰न नसकेकोमा दुःखी पनि भएका हुनसक्छन्।
 …अनुवाद' सबैभन्दा लामो कथा हो। २० पृष्ठ लामो प्रस्तुत कथामा राई आफैं पात्र छन्। …लेखक' छ। अक्सर गुजुल्टो परेको भाषा बोल्छ। तैपनि आमलेखकको सांसदजस्तै भएर ऊ पीडा कहन्छ, …म समालोचना पढ्दिनँ। त्यहाँ हामी लेखकले बोल्न पाउँदैनौं। मलाई अन्तर्वार्ता मन पर्छ। त्यसमा म लेखक मात्र बोल्छु। त्यहाँ समालोचकले बोल्नै पाउँदैनन्।' (१४३)
लेखक र अनुवादक छुट्टाछुट्टै प्रजातिका हुन् भन्ने मान्यता भत्काउँदै लेखक अनुवादक केटीसँग भन्छ, …म पनि अनुवादक... ढुंग्ाा, माटो, मान्छेको जगत्लाई अक्षरहरूमा अनुवादक।' (१४९)
 राईका कथा कति बुझिन्छन्, कति बुझिनबाट …जोगिन्छन्'। जसले बुझेका छन्, बुझेरै उनको लेखकलाई सम्मान दर्शाएका छन्। बाँकीले नबुझेरै प्रेम गरेका छन्। कथा भन्दै जाँदा राईले उभ्याएका सामान्य जनजीवनका पात्र पनि दार्शनिकजस्तै बीचबीचमा आफ्ना निर्णय सुनाउँछन्। …साराका सारा आदर्श नष्ट भएपछि पनि मानिसको मानिसता सिंग्ाो नै रहने रहेछ।' (७५) …एउटा विचारको यात्रापथ' को नायक भन्छ, …जिन्दगीमा हामी यहाँ जन्मेका आदर्शका चाकरीमा लाग्न आएका होइनौं।'
 …उज्यालो' लाई निबन्ध भने पनि फरक पर्दैन। पात्र, कथानक र सेटिङविना पनि त्यो कथा हुन गयो, किनकि त्यो इन्द्रबहादुर राईले लेखेका हुन्। राईले कथासंग्रहमा हालिदिएकाले त्यो कथा भयो। लेखकको नाम मेटेर कथा छापिएको भए पाठकले कसरी ग्रहण गर्थे होलान्!
 १९८२ को नोबेल साहित्य पुरस्कार विजेता गाब्रियल गार्सिया मार्खेजले …द लास्ट भोयाज अन् दी गोस्ट सिप' लेखे। सिंगै कथा एक वाक्यमा लेखिएको थियो। हाम्रैमा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले निबन्धमा गरेका प्रयोगमाथि प्रश्न उठाउने हिम्मत कसैले गरेन। पाठकमाथि मार्खेज, देवकोटा आदि जसरी हावी भए, शालीन स्वभावका राई नेपाली पाठकमाझ उसरी नै …साहित्यिक बौद्धिक दादागिरी' देखाइरहेका छन्। उज्यालो, बाघ, ‰याल, इच्छा बाँचिरहन्छ आदि कथा प्रमाण हुन्।
…इच्छा बाँचिरहन्छ' चिठीजस्तो छ। राई …जस्तो' मा अधिक विश्वास गर्छन्। उनको लीलालेखन पनि …जस्तो' जस्तै हो। आशावादी भएर पर्खिरहनुमा जीवनको अर्थ देख्छन् पात्र–
 …शोभा, म केही सोधूँ?'
 …सब सोधिहाल्नोस् वा नसोध्नोस्, मलाई भय लाग्छ।'
 …मलाई पाइनौ भने के गछर््यौ तिमी?'
 …खोजिहिँड्छु'
 …अझै नपाए?'
 …पर्खनेछु। नींद नआएसम्म।' (४६)
यसरी बुझेबुझेजस्तो। नबुझे पनि केही अर्थ फेला पारेजस्तो गरी कथा लेखेका छन् राईले। …ब्ल्याक आउट, काजु बदाम, छोरा' कथामा लेखकको व्यक्ति पात्र भएर घुमिरहन्छ। जिम्मेवार पाठक त्यस व्यक्तिलाई ग्रहण गर्छ।
…एउटा दिनको सामान्यता' कथामा उत्रो केही छैन। भिडियो खिचेजस्तो दृश्यहरू पालैपालो राखिन्छन्। साधारण नागरिकको दिनचर्या कसरी नै पो बित्छ र! त्यसको कुनै कार्यतालिका हुँदैन। कथाले जबर्जस्ती कार्यसूची बनाइदिन सक्दैन।
दार्जिलिङको लोकबोली राईका कथाको लेख्य लवज हो। पात्र पर्वते खस भाषा बोल्छन्। तर, त्यो …हाइब्रिड' छ। …मैनाकी आमा अर्को ग्राहक पर्खेर बस्छ' (७६), …रुन्छ त छोराछोरीहरू' ५९... जस्ता वाक्य किताबभरि छन्। प्रस्तुत कथासंग्रह दार्जिलिङे लवजको मेनु भन्दा हुन्छ।
 कथा लेख्नु भनेको सजिलो भाषामा समाज र समयसँग विमर्श गर्नु पनि हो। क्लिष्टता प्रदर्शन गर्न अरू विधा पनि होलान्। हरेक विधाको आफ्नो गुण, सीमा र पाठक हुन्छ। राईमा यसको हेक्का नरहेको देखिन्छ। दर्शनको पोथा लेखेजस्तो कथाको उमेर ढल्किसक्यो। राईलाई मात्रै कति दिन अपवाद मानिरहने?
 कसैले लीलालेखन प्रविधिको दुहाई दिँदै राईमाथि छुटको आग्रह गर्लान्। आख्यानकार कृष्ण धरावासीले त्यही लीलालेखनलाई सजिलो पारामा लेखेको दृष्टान्त हाम्रै साहित्यमा छ। सजिलो लेखे पाठकले बु‰लान् कि भन्ने …भय' लागेको हो राईलाई?
 किताबको पछिल्लो पातोमा धरावासीले लेखेका छन्, …राईका कथाले पाठकलाई हत्केलामा च्यूँडो अड्याउन लगाउँछन्।' हुन पनि राई त्यस्तै भाषा चलाउँछन्, …उसलाई बुद्धिमा खुसी लाग्यो। खुसी बाफजस्तो घुमिरह्यो' (६७) …केही नसोच्न शक्ति चाहिन्छ।' (६८) जस्ता वाक्यले च्यूँडोमात्र होइन टाउकै अडेसो लगाएर सोच्न लगाउँछन्।
 दार्जिलिङे प्लटमा राईका बान्की बुझिनसक्नु छन्। यो पाठकको बौद्धिकता मात्रै होइन, राईको अभिव्यक्ति शैलीको पनि सीमा हो।

No comments:

Post a Comment