Friday, January 20, 2012

मनोज वोगटीको स्पर्श

आगोमाथि पानी

भित्र आगो पाल्नेहरू
ज्वालामुखीमाथिको हिमाल झैं
सुन्दर र आकर्षक हुन्छन्‌।


विश्वभरि नै शोषणको विरूद्ध आवाज उठ्‌छ। त्यो आवाजलाई त्यहॉंत्यहॉंको साहित्यले निक्कैमाथिसम्म पुर्‍याउँछ। कुनै पनि ठाउँमा हुने द्वन्द्वको प्रकाशना त्यहॉंको सर्जकहरूमार्फत विस्तृत बन्छ। त्यो पढ़ेर त्यहॉंको द्वन्द्वको आकार छाम्छौं हामी। त्यसको स्वरूप, आधारभूमि र कारकतत्वलाई हेर्न ती पढ्छौ पछिसम्म। उदाहरण लिएर भन्छौं, त्यसरी त्यहॉंको शाषण भत्कियो र त्यहॉंबाट पलायो अर्को शाषण। भत्किँदै बनिने यो प्रक्रियाबीच लेखनको चलखेल भुक्क उठिबस्छ, स्पष्ट देखिनलाई।
सबैथोक स्थायी नहुने हुनाले कसैको विचार पनि स्थायी नहुने भयो। जुन विचारलाई लिएर कसैले पनि आफूलाई जस्टिफाइ गर्ने जुक्ति निर्माण गर्छ। विज्ञान, धर्म र राजनीति पनि यस्तै जुक्तिहरूले भत्किँदै पनि अर्को आकारमा रूपान्तर भइबस्ने चक्र छ।
पुरानोको विरूद्ध नयॉंले( नयॉं र पुरानो हुन्छ?)लिने पदक्षेप आकारमा आउँदा भित्र आगो पालेर नै आउँछ। त्यो आगोले गालेको आवाज ज्वालामुखी जस्तो फुट्‌छ अनि त्यसको अस्तित्व शुरू हुन्छ।
कवि ध्रुब चौहानले निक्कै अघि सुनाखरीमा प्रकाशित गरेको कविता पढ्दै थिएँ एक दिन। भित्र आगो पाल्नेहरू-प्रकाशित हुँदा भित्र आगो पाल्नेहरूले आकार पाउँदै थिए। उनको वर्तमानलाई टेकेर जुन द्वन्द्वले निक्कै उफ्रिपाफ्रि गर्दैथियो त्यसलाई मज्जले नै उनले छामेको, पढ्दा मनमा आयो।
कविले लेख्ने भनेको के हो?
अहिले लेखिएका कविताहरूलाई रेखाङि्‌कत गर्ने र त्यसको भुक्क उठेको चलखेल देखाउने जुक्तिहरू निक्कै चर्चित छन्‌। एउटा चलखेलमा मलाई पनि जोड़ेर नै राखिएको छ। उम्कन सक्छु म?
कविले लेख्ने भनेको यो यो हुँदैन। त्यो त्यो पनि हुँदैन। यसो भएपछि कवितामाथि यो यो र त्यो त्यो भनिरहने कुरा आउँदैन कि! तर यो यो र त्यो त्योे भन्नलाई एउटा हुल तयार पारेन भने परम्परा हस्तान्तरणको सवाल विवादमा आउँछ। चलखेलहरू राजनीतिमा मात्र होइन साहित्यमा पनि हुन्छ। साहित्यिक राजनीतिको अभिष्ट कति दह्रो हुन्छ त्यो त राजनीति खेल्नेहरूले नै भन्न सक्छन्‌। चौहानको कविता पढ्दा मलाई साहित्यिक चलखेलको स्वाद आएन। उनको कविता कि वर्तमान पढ़िरहेको थिएँ म। उनको र मेरो वर्तमान एउटै भुँइमा रहेकोले हामी समसामयिक ऐनामा आइरहेका थियौं। राजनीति र साहित्यको समकालीन सम्बन्ध निक्कै उज्यालो देखिन्थ्यो कवितामा।
भेंड़ा बाख्रा वा पशु जस्तै
बेलगाम हुन्छन्‌
आगोहरू पनि।

उनले यसो भन्दा पहाड़बाट एउटा क्रुर व्यवस्थालाई पुरुक्क उखेल्ने हुरिसरीको खाक पार्ने ती नै आगोहरू देख्दै थिएँ। तर त्यो बेलगाम आगोलाई पनि लगाम लगाइन्छ कि जस्तो लागिरह्यो मलाई। उनले कविता लेख्दा देखे-
जिम्मेवार र अनुभवी
गोठालाहरू
वरिपरि तिर्पाइ हानेर
आनन्दले
तर
आगो चराइरहेछन्‌।

(अहिले सबै आगोहरूको पीठमा जुन निलडामहरू देखिन्छन्‌, त्यो तीनै गोठालाहरूले हानेका हुन्‌। चौहानले एकदिन त्यो पनि देख्नेछन्‌ अनि कविता लेख्नेछन्‌, मलाई यस्तो लागिरह्यो।)
चौहानले एउटा सुरक्षाधेरा देखेका थिए। त्यहीँबाट भोलिको हरियालीको कल्पना टॉंगेका थिए। तिनले अहिले पनि यसरी नै हेरेका होलान त खुट्टामुनीको वर्तमानलाई? कविता लेख्दा, प्रकाशित हुँदा अनि अहिले पनि त्यसको पठन हुँदासम्म निक्कै केक्केहरू भत्किसकेको छ। चौहानको विश्वास, विचार र वर्तमान भत्किबस्दैन र?
 त्यो कविताले मभित्रका केक्केहरू भत्काउँदै लग्यो।
    आगोहरू जसरी आगो भएर आएका थिए त्यसरी नै आगो भइरहन सक्दैन कि, जसले आगोहरू उगेले उसैले पानी पनि पो छाद्ने हुन्‌ कि।
भित्र आगो पाल्नेहरू/ज्वालामुखीमाथिको हिमाल झैं सुन्दर र आकर्षक हुन्छन्‌/आफूभित्र सुनामी लुकाउने/ सागर झैं/ गम्भीर र शान्त हुन्छन्‌ -भनेर कवि चौहानले तर परिस्थितिलाई खबरदार गरेको तर मज्ज आइरहेको लाग्यो।
छेउमा नै रहेको वर्तमानको अनुहार पढ्न के कुनै कविको कविता पढ्न पर्छ? चौहानको भित्र आगो पाल्नेहरूको अनुहार हेर्दाहेर्दै यस्तो कुरा आयो।
कविता के हो? लु त कुनै आलोचकले भनुन्‌ त। उसलाई म मुखभरिकोे जवाब दिनेछु। किन भने मलाई थाहा छ आगो हुने ठॉंउमा पानी पनि उम्रिन्छ।
आगोले आफन्त चिन्दैन। चलाउन जान्नेहरूको निम्ति मात्र हो आगो। चलाउन जानेन भने पोल्छ। जसलाई पोल्छ भनेर थाहा छ उसले आगोमाथि खनाउने पानी तयार पारेको हुन्छ, होइन त?

No comments:

Post a Comment