Friday, January 20, 2012

मनोज वोगटीको स्पर्श

चाम्रो सरल

किताबको नाम नै थियो- बीउ भाले। कथाकार शमशेर अलीले यसको विमोचनको निम्ति जस्तो तम्तयार गरेका थिए, इमान्दार सर्जकले सिर्जनालाई गर्ने मायाको एउटा मनपर्दो हद छाम्न पाइएको थियो। निमन्त्रणा कार्ड नि छोराको बिहे जत्तिकै राम्रो, खर्चालु। विमोचन पनि कहिल्यै साहित्यिक हल्लाखल्ला सुन्नु नपरेको महङ्गो होटल सिल्भर ओक्सको एउटा राम्रो कोठामा। कार्यक्रम गर्न त होइन त्यहॉं पस्ने आँट पनि सर्जकहरूले गर्न सक्दैनन्‌। विहेमा गएजत्तिकै भइरहेको थियो। कार्यक्रम यस्तो भए कि त्यस्तो फेरि शमशेर अलीले नै गर्न सक्छन्‌। तिनको इमान्दार सिर्जनशीलतालाई सलाम। धेरै थोकको अनुभूति एकैसाथ दिएको यही कार्यक्रमले इमान्दाररूपले लेखनमा सरलताको विषयलाई झिकेको थियो।
    टीका भाइ अनि सञ्जय विष्टले समाजमा कथा हराइसकेको कुरा गरे। समाजले नबुझ्ने कथामाथि प्रतिक्रिया उठ्यो।
जगदिश घिमिरेले उनको आत्मालापमा भनेका छन्‌, ‌- नबुझिने लेख्नु नसुनिने गरी कराउनु हो

शमशेर अलीले सबैले सुन्न सक्ने मात्र होइन सबैले बुझ्न सक्ने मात्र होइन सबै डुब्ने कथा लेखेका छन्‌। सजिलो तिनको कथा सबैको निम्ति प्यारो बनेको छ, गम्भीर पाठक वा अगम्भीर पाठक दुवैलाई। यो कथा सङ्‌ग्रह नपढ्ने पाठक, वास्तवमा पाठक नै होइन भन्न मिल्छ। हुन त पाठक भन्ने कुरा विवादास्पद छ। पाठक भनेको के हो? कस्तो पाठकको कुरा गरिरहेका हौं। निश्चित भन्न गाह्रो छ। अनुपातमा जसले धेर पढ्छन्‌, पढ्नुपर्ने हो उनीहरूकै कुरा गरेका हौं की।
    नसुनिने कराइए समाजले थाहा पाउने होइन अनि समाजले थाहा नपाउने के कराउनु? साहित्यमै बुझ्ने नबुझ्नेबीच निक्कै द्वन्द्व छ। तर छ दुवै नै साहित्यिक इतरको चहलपहल। अहिले यता सरलताको कुरा निक्कै गम्भीररूपले उठिरहेको छ। नेपालमा  त छनै।
    एक दिन कवि मिलन वान्तवाले फोन गर्दै मलाई भने, सरल र छुने लेख्नु जति साह्रो काम केही होइन, नबुझ्ने लेखेर पाठकलाई ढॉंट्‌नु जति सजिलो सरल लेख्नु होइन। हङकङका हाङयुङ अज्ञातले पनि सरल लेख्नु सरल छैन भने, सरलताको चर्चा गर्दा फेसबुकमा।  कवि राजा पुनियानीको बोजु दैलो श्रृङ्‌खला कविताहरूको सरलता(हामी थोरैले मात्र पढ़ेका छौं, अरूले पढ्न पाउनु नपाउनु राजा पुनियानीको जिम्माको कुरा हो।), रेमिका थापाका गाउँका कविताहरूका सरलता, मिलन वान्तवा कै गाउँ शहरका सरल कविताहरू, केवलचन्द्र लामाको घर श्रृङ्‌खला, विचन्द्रको विपश्यना, शमशेर अलीको बीउ भाले पढ्दा आउने मिठास्‌, कथा र कविताले बोकेको अर्थ र ग्रहण गर्नुपर्ने अन्तरपाठले दिने स्पर्श सबैले साहित्यमा खोजिरहेकै खोज भइरहेको छ अहिले।
    हामी सप्पै सरल हुन खोजेर पनि किन सरल हुनै सक्दैनौ? खासमा नेपाली भाषामा नै राम्रोसित बोल्नलेख्न नसक्ने आधा नेपाली र आधा अरू के के मिसाएर आफ्नो अभिव्यक्ति दिने भारतका नेपाली बहुल क्षेत्रहरूमा नेपाली साहित्यिक भाषा वा अझ काव्यभाषाको कुरा नबुझिने कविता जत्तिकै त हो। नबुझिने, गाह्रो कविता कस्तो हुन्छ म उदाहरण दिन सक्तिन। तर उदाहरण लाखौं हुन सक्छन्‌। तर सरल कविता यस्तै हुन्छन्‌ कि-
खलामा दाईं गर्दैछु
दुइवटा गोरूहरू घुमिरहेछन्‌
पछिपछि लौरो लिएर म पनि घुुमिरहेछु
होइन होइन तीनवटा गोरूहरू घुमिरहेछन्‌
कि म पनि त गोरूझैं खटिरहेछु
अरू म महागोरू खट्‌नुसम्मलाई मात्र खटिरहेछु, किनकि

पराल र धान छुट्टिएपछि
पराल गोरूको हुन्छ
धान र पराल छुट्टिएपछि
धान साहुको हुन्छ

वर्षभरि खट्‌नु पर्ने खेतचाहिँ मेरै हुन्छ।

(ज्ञानेन्द्र खतिवड़ा)
गाउँले कालो पैसा जानेको छैन
गाउँले कालोबजारी पनि जानेको छैन
एकाएक गाउँमा अनिकाल पर्छ
यो अनिकालमा
बीउ पनि गाउँले नै जोगाउनुपर्छ।

सजिलो छैन गाउँलाई
भोकानाङ्गा बालबच्चाहरूका अघि
बीउ जोगाउनु।

(रेमिका थापा।)
धानले
खेतमा उभेर
शीर हल्लाउँदै भन्यो
सारा मंशिर मेरो हो़।

(उदय थुलुङ)
म छु।
तिमी छौ।
बीचमा लाई भइदिएको भए
मलाई तिमी हुनेथियौ
अथवा
तिमीलाई म।
विभक्तिबिनाका शब्द भयौं
तिमी र म।
कहिले हुनु वाक्य हामी
कहिले हुनु काव्य।

(राजेन्द्र भण्डारी)
नाङ्गो भुतुङ्गो शिशु
कतै उनै होइन ईशु?

(विचन्द्र)
यतै पनि यस्ता खाले सरल कविता प्रशस्त लेखिएका छन्‌। यस्तै प्रशस्त नबुझिने कविताहरू पनि लेखिएका छन्‌। त्यसको उदाहरण नदिएकै राम्रो। तर यी दुइथरीका कविताहरूबाट पाठकले कुन लिने भन्ने स्वतन्त्रता वा पाठक स्पेसमाथि सर्जकहरूले बहस गर्न सक्ला र? सर्जकले पाठकको स्पेसमा खलल पुर्‍याउनु पनि उचित कार्य नहोला। तरै पनि सबैले कठिन कुरा सरलमा भनेकै मन पराउँछन्‌। कुन कुरा राम्रो र कुन कुरा चाम्रो, त्यो त पाठकले नै भन्ने कुरा हो तर पाठक सर्जक नभएको कारण पाठकको अनूभूति सर्जकसम्म पुग्दैन। थोरै मात्र यस्ता पाठक छन्‌ जस्ले आफ्नो पाठकीयलाई व्यक्त गर्छन्‌। नत्र त आलोचकहरू पनि सार्वजनिकरूपले कुनै पनि अन्योलता र विवादास्पद कुरामा लिखित बहस गर्न सक्दैनन्‌। तर उनीहरू मौखिकरूपमा भने अच्चाकाली हल्ला गर्ने हुन्छन्‌। एउटा ठूलै बहस सरल र चाम्रोको निम्ति पनि हुनुपर्ने हो कि, चुपचाप सिर्जनामा लाग्नुपर्ने हो सर्जकले। मलाई अहिले अलिकति बाङ्गिन मन लागेको छ चाम्रो सरलको निम्ति।

No comments:

Post a Comment