Thursday, January 19, 2012

आलेख

  • शारदा शर्मा
लीलाहरु र इन्द्रबहादुर राई

भदौ चार गते २०६८ कृष्णाष्टमी हो आज।
बिहान विशालनगर चण्डोलको कृष्णमन्दिर जाने तरखर गर्दैथियौं।
म के लगाऊँ?
सेतो कमीज सुरुवाल लगाऊ न, मन्दिर जाँदा लगाउने त हो।
बाबा खुशी भयो। उसलाई यस्तो लुगा लाउन मन पर्छ। म चाहिं अघिपछि पाइन्ट लगाऊ भन्छु। मलाई ऊ कुर्ता सुरुवालमा त्यति खुलेको जस्तो लाग्दैन।
मन्दिर जाँदा केही लैजानु पर्दैन? उसले सोधेको हो। उसलाई यस्ता कुरामा चासो छ।
हैन, पैसा चढाए भैहाल्छ नि। मलाई पूजासामा बनाएर बोक्ने जाँगर चलेन, वास्तवमा यस्तो गर्न लाज लाग्छ मलाई­ यथार्थ कारण चाहिं यही थियो। केही बोकिन मैले। बाटामा पुगेपछि चाहिं लाग्यो­ फूल र धूपबत्तीसम्म बोकेको भए हुने।
रातो धोती चाहिं लगाएँ। अरुणलताले पोहोरको तीजमा पठाइदिएको, लगाएकै थिइन। तिलहरी लगाएँ, सुहाएजस्तो लागेन। त्यो फुकालें र एकसरो पोते लगाएँ फेरि। अरु गहना त घरमा थिंदै पनि थिएनन्।
....
हामी गाडीबाट निस्केपछि मान्छेहरु झुरुप्प आए वरिपरि, नमस्कार गरे र त्यहीं बाटाछेऊ राखेको सानो बेञ्चीमा बस्न अनुरोध गरे, म पनि बसें बाबाको छेऊ। कृष्ण मन्दिर अघिल्तिर सडकछेऊ यत्रतत्र स्थानीय राजनीतिक कार्यकर्ता र केही त्यहींका वासिन्दा थिए। एउटा पुरानो टेबुल अघिल्तिर मेचमा बसेर चन्दा दिनेहरुलाई अर्धकट्टी दिइरहेथे अनिश भट्टराई। बाबाले पाँचसयको नोट निकालेर दियो।
रङ्गीबिरङ्गी प्लाष्टिकका जाली­ढक्कीमा माथिबाट जाली रुमालले छोपेर ल्याएका पूजासामा बोकेका महिलाहरुको लामो लाइन थियो बाटापारि सडकछेऊ। आफू चाहिं पूजासामा बोकेर मन्दिर गएको सम्झना छैन मलाई। विधि विधानले पूजा­आचा गर्न पनि जान्दिन क्यारे! आमा कहिल्यै जानुभएन मन्दिर यसरी! आमाको धोतीको फेर समातेर मन्दिर जान पाउने साथीहरुको सधैं आहि्रस लाग्यो मलाई।
बाबा यो क्षेत्रको सभासद्, स्वाभाविकै हो­ मान्छेका आँखामा आफ्नो सभासद्का प्रति म अनेक आकांक्षा देख्थें। कतिपयका आँखामा व्यंग्य पनि हुन्थ्यो। मनमा यत्तिकै चोर पस्थ्यो, सोच्थें­ संविधान बनाउन सकेका छैनन् सभासद्ले, त्यसैले मान्छेले खिसी गरेका हुन् कि? कतिपय सामान्य मान्छेलाई सभासद् भनेको औसत मान्छेभन्दा बेग्लै, विशेष, आर्थिक रूपमा पनि निकै सम्पन्न मान्छे हो भन्ने पनि लाग्छ। सभासद्ले चाह्यो भने जागीर लगायत जे पनि गरिदिन सक्छ भन्ठान्छन् धेरैले। बाबाले भने धेरै साथीहरुका काम गरिदिन सकेको छैन। उनीहरुका अघिल्तिर त्यसैले संकोच हुन्छ मलाई।
मैले आफ्नो शरीर हेरें, साधारंण कटनको धोती, कुनै गहना नभएका नाक कान घाँटी। भक्तालु महिलाहरु छपक्कै सिंगारिएका छन् शृङ्गार, गहना र रङ्गीचङ्गी कपडाले। म सभासद्की श्रीमती, अलि गतिलो साडी त लाउनुपर्ने, दुइटा सुनका चुरा त हुनुपर्ने नाडीमा। कसैले केही नभने पनि किन हो मेरा मनमा यस्ता कुरा आइरहेछन्। मेरो यो गेटअपले बाबाका साथीहरु निराश हुने हुन् कि? हाम्रोजस्तो समाजमा घरको सम्पन्नता प्रायः आइमाईको शरीरमा रहेका गहना गुरियामै आँकिने गर्छ अझै। सभासद् नरहरि आचार्यसंग हिंड्दा यस्ता अनुभवले मलाई पिरोल्ने गर्छन्।
साँगुरो भरेङमा लाइन बसेका महिलाहरुको छेउबाट उनीहरुलाई ठेल्दै हामीलाई माथि कोठामा लगे साथीहरुले। भगवानको पूजा गर्न लाइन मिचेर हिंड्दा संकोच लाग्यो मलाई। उहिल्यै मुक्तिनाथ जाँदा आफू लाइन बसेको बेला हेलिकप्टरबाट आएका मान्छेहरुले लाइन मिच्दा आफूलाई नराम्रो लागेको सम्झँदा झनै अप्ठेरो लाग्यो। सोचें­ मान्छेको जीवनमा धेरै विरोध र विरोधाभाष हुन्छन्।
माथि तलामा थियो मन्दिर। छिर्ने बित्तकै एकजना ब्राह्मणले टीका लगाइदिए हामी दुवैलाई, रातो यू आकारको छापे टीका। पर कुनामा केही महिलाहरुलाई दुना टपरी गाँस्दै गरेको देखिरहेथें। राधा कृष्णको सुन्दर मूर्ति रहेछ सीसाभित्र, पूजा गर्नलाई चाँदीको एकजोर पाउ बनाइदिएको रहेछ मूर्तिका अघिल्तिर। चढाएको पैसा हाल्ने बेग्लै झोला थियो। बाबाले सय रुपैयाँ चढायो, मैले पचास रुपैयाँ हालेर नमस्कार गरें। कोठाको एउटा कुनामा पँहेलो वस्त्र लगाएका थुप्रै ब्राह्मण भागवत र गीता पाठ गरिरहेथे। सम्भवतः विष्णु सहस्रनाम पढिरहेका एकजना ब्राह्मणका अघिल्तिर वेदीमा चढाएको फूल अक्षतामाथि बाबाले पचास रुपैंया राखिदियो।
पूजारीले दिएको प्रसाद लिएर हामी पछाडिको ढोकाबाट निस्क्यौं र भरेङ् ओर्लेर तल आयौं। सडक पारिको खाली ठाउँमा पाल टाँगेको थियो, केही मेच थिए।भित्र सानो स्टेज बनाएर हार्मोनियम, तबला र खैंजडी बजाउँदै भजन गाइरहेथे केही मान्छे।
त्यो गाउने ठिटो नारानदाइको भतिजो हो­ उत्तम आचार्य। बाबाले मलाई टाढाबाटै चिनाइदियो। भक्तराज आचार्यले गाएको भजन हार्मोनियममा बडो मीठोसंग गाइरहेथे ती युवकले­
सब निदाए प्रभु....छैन कोही साथमा....
दाहिनेतर्फ कम्पाउण्डको तीनतले पुरानो घर बाबाको जन्मघर हो, मेचमा बसीबसी मैले माथिसम्म आँखा पुर्याएँ। उसका पिताको निधनपछि करीब पचास वर्ष पहिले सिरिखुरी बेचेर पहाड गएछन् उनीहरु, एउटा व्यवस्थित साँगा भत्केर लथालिङ्ग भएछ। आफू जन्मेको कोठा त्यही हो भनेर बारम्बार एउटा पुरानो झ्यालतर्फ देखाउँछ उसले मलाई, यो बाटो हिंडेका बेला सधैं।
यही कृष्ण मन्दिर पनि मेरी सासूले, त्यतिखेरै सार्वजनिक प्रयोजनका लागि दिनुभएको जग्गामा बनेको रहेछ। त्यतिखेर मन्दिर माटोले बनाएको थियो, यो पक्की मन्दिर पछि बनेको हो­ उसले मलाई यसको इतिहास बतायो।
हामी बसेर भजन सुनिरहेको यो जमीन पनि पहिला हाम्रै कम्पाउण्डमा पर्थ्यो- बडो भावुक भएर भन्यो उसले। मैले हेरिरहें बाबालाई, सम्पत्ती बेचिए पनि त्यससंग जोडिएका सम्झनाहरु कहाँ बेचिन्छन् र?
पुरानो भजन सकिएपछि नयाँ भजन गाइरहेथ्यो कसैले­
श्रीकृष्ण मेरो घर आए.....
मलाई लाग्यो­ हामीले हाम्रा भनेका घर नै कहाँ हाम्रा हुन् र?

बढीमा आजको पचास वर्षपछि यतिखेर मैले मेरो भन्ने घर पनि मेरा निम्ति पूरै आप्रासाङ्गिक हुनेछ।
किन यस्तो हुन्छ? थाहा छैन। सम्भवतः यस्तै नबुझिने कुरालाई मान्छेले लीला भन्ने होलान्।
....
नेपाली साहित्यका लीलापुरुष इन्द्र बहादुर राई आएका छन् यतिखेर काठमाण्डौंमा। बुकवर्म ट्रष्टले आयोजना गरेको बृहत् साहित्य मेलाको उद्घाटनका निम्ति आएका हुन्। आयामेली आन्दोलनका एक पात्र उनी, तेस्रो आयामदेखि हिंडेर लीला लेखनसम्म आइपुगेका छन्। दार्जिलिङ्मा बस्छन्, भारतीय नेपाली भाषी हुन्, नेपाली भाषामा निकै राम्रा कृतिहरु लेखेका छन्। आज रमिता छ, विपना कतिपय जस्ता उनका रचना मैले पढेकी थिएँ जमानामा।
उनको समालोचना लेखनको भाषा­शैली विचित्रको लाग्छ मलाई। सोचेकी थिएँ­ मान्छे पनि अप्ठेरा होलान्, जेलिएका। हामीजस्तालाई बोल्न पनि संकोच हुनेहोला उनीसंग। आफूलाई धेरै जान्ने-सुन्ने ठान्नेहरुले पछिको पुस्ताका धेरैलाई चिन्दैनन्, तिनको पढ्दैनन् पनि। उद्घाटन भाषंण सुन्दै गर्दा लाग्यो­ यी त खुला हृदयका मान्छे रहेछन्, जिज्ञासु छन्, उत्सुक छन्। ८४ वर्ष भए पनि यी शायद बूढा होइनन्।
उद्घाटन भाषणमै आफ्नो लेखन यात्राको लामो कथा भने उनले­ राम्रो लेख्ने, जीवनलाई समेटेर लेख्ने भनेर पच्चीस­तीस वर्ष उमेर वरपरका तीनजना युवकहरु बैरागी काईंला, ईश्वर बल्लभ र इन्द्रबहादुर राईले आयामेली आन्दोलन सुरु गरेका रहेछन्। आयामेली आन्दोलन मूलतः जीवन र जगतलाई लम्बाइ र चौडाइको दुइटा पाटाबाट मात्रै होइन, गहिराईबाट पनि लेख्ने दार्शनिक विचारधारामाथि आधारित रहेछ। नेपाली लेखनमा हृदयतत्व निकै भयो, बुद्धितत्व कम भयो भनेर बोध गरेपछि बौद्धिक रचना लेख्न थालेछन् उनीहरुले।
'तर त्यसले पनि अन्ततः कहीं पुर्याएन', उनी भन्थे।
इन्द्रबहादुर राई भौतिक विज्ञानमाथिको रुचि देखेर अनौठो लागिरहेथ्यो मलाई।
'आइन्स्टाइनको सापेक्षवाद पढेपछि त जीवनमा केही पनि स्थिर छैन, स्थायी छैन, सबैकुरा सापेक्ष हुन् भन्ने बोध भयो। जीवन र जगतलाई सम्पूर्णतामा लेख्न खोज्ने काम नै बडो समस्याको काम पो रहेछ! अब हामीले अरु ठूला कुरा छोडेर यिनै समस्याका बारेमा लेख्नुपर्यो भनेर लाग्यौं। हामीले अब एउटा खुला, स्वतन्त्र आग्रहरहित मान्छेका बारेमा लेख्नपर्छ भनेर सोच्यौं, तर कसरी लेख्ने चुनौती थियो। काईंलाको मातेको मान्छेको कविता तेश्रो आयामको राम्रो नमूना हो।'
अत्याधुनिक विज्ञानको निष्कर्ष र हाम्रा धार्मिक शास्त्रहरुको सार एकैठाउँमा आइपुग्ने रहेछ भन्दै गर्दा चकित देखिन्थे उनी। अणु परमाणुका गति र शक्तिका वर्णन गरिरहेथे यी साहित्यका समालोचक। 'अब त कहाँ थ्योरी अफ रिलेटिभिटी मात्रै? साइन्स अब क्वान्टमको सिद्धान्तमा आइपुगेको छ', साहित्यिकहरुलाई सूचना दिए उनले।
'जीवनलाई सम्पूर्णतामा लेख्न त्यसलाई सम्पूर्णतामा बुझ्न पनि पर्छ। त्यसैले विज्ञानले के भन्छ, दर्शनले के भन्छ, धर्मले के भन्छ भनेर बुझ्नु आवश्यक लाग्यो, त्यसैले हामीले यी सबै विषय अध्ययन गर्न लाग्यौं', तिनको ज्ञानको भोक र भोक मेट्ने तत्परता साह्रै मन परेको हो मलाई।
ऋवाक् सुनिरहें मैले। उनी बोलुञ्जेल लागिरह्यो - कुनै सत्यार्थी अनेक तरहले सत्यको खोजी गर्दैछ। निरन्तर खोजीमा छ, भेटें भन्ठान्छ, तर भेट्दैन। बारम्बार खोज्नु र केही पनि नभेट्नुको लामो श्रृंखला पार गरेपछि ऊ वेदान्ती निष्कर्षमा पुग्छ- अर्थात् केही जस्तो पनि छैन यो ब्रह्म, यो त शून्य पो हो।
साहित्य सिद्धान्तका सीमित सूत्रहरूको व्याख्या रटेर सधैंभरी सिर्जनालाई त्यसैका मानकमा मात्रै हेर्न खोज्ने कतिपय परम्परावादी आलोचकहरुका अघिल्तिर यो स्यानो, सरल, स्पष्टवादी मान्छे के कुराको प्रमाण थियो भने- संसार गतिशील छ, यसको गतिशीलता मात्रै एउटा कुरा हो, जुन परिवर्तन हुँदैन, बाँकी सबै कुरा परिवर्तनशील छन्। यस सत्यलाई स्वीकार गर्दा मान्छे झन अग्लो हुन्छ।
....
यिनै ८४ वर्षीय लीलापुरुष यतिखेर हाम्रो घरमा छन्। बिहान माउन्टेन फ्लाइटमा गएका रहेछन् हिमाल हेर्न। भोलि दार्जिलिङ् फर्किने। मेरो अनुरोधमा साङ्ग्रिला प्रकाशनका मणि शर्माले यिनलाई हाम्रो घरसम्म ल्याउने चाँजो मिलाइदिए। राईजीकै बोली अनुसार उनी 'काईंला' को गाडीमा यहाँ आएका हुन्। लीला लेखनका नाति पुस्ता रत्नमणि नेपाल तथा युवा पत्रकार याम सङ्गीत सामेल थिए।
राईज्यूलाई भेट्न जयराज आचार्य र उषा दिदी बडो प्रेमले आइपुग्नुभयो, बिहानै मात्र खबर गरेकी थिएँ। अरु टोल वरपरका साहित्यमा रुचि राख्ने साथीहरु आए। कृषि विज्ञ भएर पनि भर्खरै एउटा रोचक उपन्यास 'आस' लेखेर साहित्यमा प्रवेश गरेका प्रदीपमान तुलाचन, साहित्यकार रामप्रसाद अर्याल र महेश्वर शर्माहरु थिए। हाम्रो टोलका सबैभन्दा ठूला साहित्यकार ध्रुवचन्द्र गौतमको भने त्यसै दिन साहित्य-मेलामा प्रस्तुति भएकाले मैले निम्तो गरिनँ। साहित्यका प्राध्यापक डा. ब्रतराज चाहिं ढीलै भए पनि आइपुगे।
समालोचनाका बारेमा धेरै कुरा गरे राईजीले। स्यानो ज्यानमा खैरो रङको ल्याम्सवूलको फुलबाहुले स्वेटर थियो। भर्खरै किनेका हुँदाहुन् उलहाउसबाट, त्यस्तै लाग्यो मलाई। खैरै पाइन्ट, खैरोमा सेतो चेक भएको हो क्यारे कमीज चाहिं। जुत्ताको रङ हेर्न बिर्सें। निहुरी परेर विस्तारै बोल्दा रहेछन्। कपाल कालै थियो­ म अल्मलिएँ, नफुलेकै पो हो कि त? साना आँखा, कसलाई हेरिरहेछन् कसरी हेरिरहेछन् पत्तो नै नहुने। छेउमा गएर नजिकैबाट हेरें मैले, पावरवाल चश्माभित्र दाहिने आँखाबाट पानीको सानो खोल्सो झरिरहेको थियो, चश्माको तल्लो डिलसम्म। मैले आफ्ना केही पुस्तक दिएँ। यसअघि उहाँ नेपाल आउँदा प्राज्ञ बैरागी काइँलाकहाँ बसेको थाहा पाएकी थिएँ। नरहरिजी भेट्न जानुभएको थियो। मैले मेरो पुस्तक अग्निस्पर्श पठाएकी थिएँ उहाँलाई। त्यही प्रसङ्ग उठाउनुभयो -
यसो पल्टाएर पढें। राम्रो पो लाग्यो त। ए, यो त राम्रो पो रहेछ, कस्को रहेछ हँ? भनेर काईंलालाई सोधें। त्यसपछि पो तपाईंलाई चिनें, तपाईंहरुको नाता सम्बन्ध पनि पत्तो लाग्यो।
यो प्रसङ्गले रमाइलो बनायो परिवेशलाई एकछिन।
समालोचनाको सन्दर्भ उठायो कसैले।
किन सैद्धान्तिक कुरा गर्ने? उदाहरण नै राखेर कुरा गरौं न, राईजीले प्रस्ताव राख्नुभयो। हातमा भएको मेरो कविता सङ्ग्रह स्वर्णसूत्रको कुनै पाना पल्टाउनुभयो र अन्तिम प्याराग्राफको पहिलो लाइन पढ्नुभयो -
म तिम्रो अभावलाई....
भन्नुभयो - अभावको सट्टा 'म तिम्रो अनुपस्थितिलाई' भन्न सकिन्थ्यो, तर यसो गरेको भए यसले पार्ने प्रभाव हल्का बन्थ्यो। यो पंक्ति भने जतिपटक दोहोर्यायो, उति नै भित्र पस्छ मनमा, गड्छ। यो पंक्तिलाई निकैपल्ट सस्वर दोहोर्याउनु पनि भयो।
त्यसमुन्तिरको अर्को पङ्क्ित पढ्नुभयो फेरि-
प्रेमले जितिरहेकी छु
अभावलाई सम्बोधन गर्दा अभावको पूर्ति गरिरहेकी छु भन्नुपर्थ्यो सामान्यतः। तर जितिरहेकी छु भन्दा जुन छाप यसले पार्छ मनमा, त्यो बढी बलियो छ।
अर्को पंक्ति पनि पढ्नुभयो-
आस्थाले जितिरहेकी छु....
ल, भन्नुस्त यो जितिरहेकी छु भनेर किन दोहोर्याउनु परेको होला कविलाई? नदोहोर्याएको भए पनि त हुन्थ्यो। दोहोर्याउँदा यसको प्रभाव के हुन्छ - कविलाई मात्रै थाहा हुन्छ। यसरी किन भनिस् वा यसरी किन भनिनस् भनेर अरुले भन्न मिल्दैन।
अन्तमा, सबैभन्दा पछिल्लो पंक्ति पढ्नुभयो-
तिमी मलाई मेरा श्वासमा अनुभव भैरहेछौ....
यो पङ्ित चाहिं अलि हल्का लागेछ क्यारे। भन्नुभयो - सबै पङ्ितमा एकै ठाउँबाट भाव आउँदैनन् कवितामा। कुनै भित्रबाट आउँछन्, कुनै अलि बाहिरबाट। कुनै कुनै सतहबाट आउँछन्।
यति ठूलो मान्छेले गरेको कविताको कति सुन्दर कति सजिलो सैद्धान्तिक विवेचना! म छक्कै परे।
मान्छे अरु प्राणीभन्दा भिन्न किन छ भने उसले बुझ्छ, सूत्रमा मान्छेको लीला बोले उनले।
....
'एउटा कविता म पढूँ यसबाट?' मैले सोधेँ।
खुशी हुदै उहाँले हातमा पल्टाइरहनु भएको 'स्वर्णसूत्र' दिनुभयो।
पचास सालको कृष्णाष्टमीमा लेखेकी रहिछु, कविता 'आस्थाका फूलहरु'। अठार वर्षपछि कृष्णाष्टमीकै दिन इन्द्रबहादुर राईका सम्मुख वाचन गरें। निहुरी परेर बडो ध्यानले सुन्नुभयो। लाग्यो - आधुनिक नेपाली साहित्यका कृष्ण सामु आधुनिक गीताको एउटा अंश पाठ गरिरहेकी छु।
बौद्धिक छ यो कविता- उहाँको टिप्पणी रह्यो। थप्नुभयो - कवि आफैंले वाचन गरेको रचनाको महत्व विशेष हुन्छ। डुब्छन् त्यसमा कविहरु।
यिनै कवितालाई लिएर समालोचना बुझाउन थाल्नुभयो। भन्नुभयो, 'समालोचकहरुले रचनालाई खण्ड-खण्डबाट मात्रै देख्छन्। कसैले के देख्छ, कसैले के। समालोचकका टिप्पणी निश्चित समयका निश्चित मान्यताहरुमा आधारित हुन्छन्, मान्यता फेरिइरहन्छन्। बरु कहिलेकाहीं गलत पनि बुझिरहेका हुन्छन् उनीहरु रचनालाई। लेखकले नै पनि आफ्नो रचना जतिपल्ट हेर्छ, त्यसको अर्थ बेग्लै देख्न सक्छ। कुनै पनि रचनाका बारेमा कसैले सम्पूर्ण न्याय गर्नै सक्तैन। कविले आफ्ना रचनाका बारे विस्तारमा व्याख्या गरेर लेखिदिनु राम्रो हुन्छ। यसले रचनालाई राम्ररी बुझ्न सघाउँछ।'
नरहरिजीले जिज्ञाशा थियो, 'यसो गर्दा कविताको व्याख्या विस्तारमा अवरोध हुन्न र? यसलाई पढेर विभिन्न किसिमबाट बुझ्ने मान्छेको स्वतन्त्र कल्पनाशीलतामा छेको लाग्छ कि?
स्वीकार वा अस्वीकार केही गर्नुभएन उहाँले यो तर्क।
'लेखनको सफलताको मापन के हुन्छ?' बडो मनोयोगले उहाँलाई सुनिरहेका डा. जयराज आचार्यले प्रश्न गर्नुभयो।
सजिलै भन्नुभयो राईजीले, 'कुनै रचनाले अर्कोमा प्रतिवि्र्कया जन्माउन सक्यो कि सकेन भन्ने कुरा बडो ठूलो कुरा हो।'
हातमा प्लेट थियो­ एक पीस केक र केही आलु चिप्स। बोलिरहँदा उहाँले खानै बिर्सनुभयो। तातो पानी मगाउनुभयो, त्यत्तिकै रह्यो।
नरहरि आचार्यले प्रश्न गर्नुभयो, 'तपाईंको कथाकी पात्रा जयमाया लाई जुन ठाउँमा लगेर छाड्नुभएको थियो कथामा, पछि कृष्ण धरावासीले शरणार्थी उपन्यासमा तिनलाई त्यहाँबाट उठाएर अनेक ठाउँ पुर्याउँदै ७०­७५ वर्षकी बुढी बनाएर छाडिदिंदा तपाईंलाई कस्तो लाग्यो?'
जवाफ दिन सोच्नु परेन उहाँलाई, 'मलाई मन परे पनि वा नपरे पनि बाहिर संसारमा अनेक घटना त घटिरहेकै हुन्छन्, त्यसलाई म रोक्न सक्तिन। धरावासीले लेखे, म के गर्न सक्थें र?'
मलाई लाग्यो आफूले कथामा एउटा बडो विपतग्रस्त, अनिश्चयको अवस्थामा पुर्याएर छाडेकी १६ वर्षकी जयमायालाई धरावासीले उचालेर संसार घुमाएको उनलाई त्यति मन परेको चाहिं रहेनछ क्यार े! सर्जकहरुलाई लाग्दो हो - आफ्नो रचनाका पात्र तिनका आफ्ना सन्तान हुन्, तीमाथि उनीहरुको मात्रै अधिकार हुन्छ।
नरहरिजी मलाई बारम्बार भन्नुहुन्थ्यो, 'राईज्यूले बडो अप्ठ्यारो अलपत्र अवस्थामा पुर्याएर लिखापानीमा छाडिदिएकी जयमायाको सधैं चिन्ता हुन्थ्यो मलाई। त्यसपछि के भयो होला त्यो केटीको? कहाँ गइहोली? के गरि होली? यस्तै लाग्थ्यो सधैं।' धरावासीले जयमायालाई शरणार्थीको हूलमा हिंडाएपछि चाहिं सन्तोषको सास फेर्नुभयो रे। यति ज्यूँदो तरिकाले पात्र उभ्याएर उसका प्रति पाठकमा यत्रो चिन्ता रोपिदिनु इन्द्रबहादुर राईको कम सफलता हुँदो हो?
....
करीब एकघण्टा बितिसकेको थियो।
साना आँखा अझ साना पारेर मुसुक्क हाँस्नुभयो राईजी - हामी पढाउने पेशाका मान्छे बोलेर थाक्तैनौं। जादूगरले मुखबाट रङ्गीबिरङ्गी कागजहरु एकपछि अर्को गर्दै निकालेको जस्तो गरी हामी एकोहोरो बोलिरहन्छौं। यसलाई रोक्न अरु कसैले कैंचीले यी कागजहरु काटिदिनुपछर्।
रमाइलो हाँसो फैलियो। भन्नुभयो- काइँला बिमारी छ। पेट दुखेर डाइरिया भएको छ। अस्पताल लैजानुपर्ने हुनसक्छ। म जानुपर्छ अब।
उहाँ उठ्नुभयो मेचबाट। पावरवाल सीसाभित्रका साना आँखामा के थियो देखिन, अनुहारमा भने प्रसन्नता छचल्किएको थियो। केही थाकेको पनि देखिनुहुन्थ्यो। साना सुकिला हत्केला जोडिए हामीतर्फ बडो प्रेमले। हामी सबैको शिर विनम्रताले निहुरियो। हामीसंग बिदा भएर त्यो स्यानो ज्यान कारभित्र पस्यो पछाडिको सीटमा।
गाडी गेटबाट बाहिरिएपछि मैले सोचे - हामी मान्छे मौलिक रूपमै कति भिन्न छौं? त्यस्तै त्यत्रै काया भएका त्यत्तिकै पढेका अरु पनि कति धेरै मान्छे होलान् यो संसारमा। दार्जिलिङमा होलान्, नेपालमै पनि होलान्, तर ती भित्र इन्द्रबहादुर राईको जस्तै र जत्तिकै चेतना किन हुँदैन? किन अर्को कुनै मान्छे इन्द्रबहादुर राई वा माधव घिमिरे वा मनिषा गौचन हुन सक्तैन? किन म शारदा शर्मा भएँ?
मनले भन्यो- यही त हो प्रभुको लीला।

No comments:

Post a Comment