लेखक: अज्ञात
स्रोत-विक्रम सुब्बा, नेपाल
कुनै जमानामा एक साहासी राजा थिए । उनले एकदिन आफ्नो राज्यका सबै बुद्धिजिवीहरूलाई बोलाएर सोधे – "जस्तोसुकै अवस्थामा, जहाँसुकै र जहिले पनि कामलाग्ने, खुशीमा होस् वा दु:खमा, हारमा होस् वा जीतमा जहिले पनि काम लाग्ने, सबै किसिमका प्रश्नको जवाफ हुन सक्ने तिमीहरू कोही नभएका बेला पनि मलाई सल्लाहकारझैँ सल्लाह दिन सक्ने गजबको एक मन्त्र छ? मलाई त्यो चहियो ।"
राजाको निर्देशन सुनेर सबै बुद्धिजिवीहरू अलमल्ल परे । तर राजाको आज्ञा अनुसार सबै बुद्धिजिवीहरू बसेर सोच्न र छलफल गर्न थाले । सोच्दा सोच्दा हैरान भएको बेला एकजना अनुभवी तथा पाको मानिसले एक उपाय सुझाए जो सबै बुद्धिजिवीका लागि मान्य भयो । सो कुरा एक कागजको टुक्रामा राम्रोसँग लेखियो । त्यसपछि उनीहरु राजाकहाँ गएर उनिहरूले कागजमा लेखेको कुरा राजालाई दिँदै भने – "यो कागजमा लेखिएको एउटा शक्तिसाली मन्त्र छ जुन राजाले खोजेजस्तै छ तर एकदमै आपत परेका बेलामा मात्र यसलाई खोलेर हेरे काम गर्छ । जहिलेसुकै जतासुकै खोलेर हेरे मन्त्रले काम गर्दैन ।" राजाले कुरा स्वीकार गरे र मन्त्र लेखिएको कागजको टुक्रा आफ्नो हिराको औँठीको भित्रपट्टि राख्ने ठाउँ बनाएर राखे ।
केही समयपछि छिमेकी मुलुकबाट आक्रमण भयो । राजा र उनका सेनाले बहादुरीकासाथ लडे । तर अन्तमा छिमेकी राजाका सेनाले पेल्दैपेल्दै ल्याएकोले ज्यान बचाउँन भाग्नु पर्ने स्थिती आयो । राजा घोडामा केही सेना सहित भागे । भाग्दाभाग्दै राजा पहाडीजंगलको गिद्दे पहरा नजिक पुगे जहाँबाट अघि जाने बाटो नै देखिएन र पछि हटे दुश्मनको फेला परिने डर थियो । राजालाई के गरौँ र कसो गरौँ भयो । अब राजालाई आफ्नो अन्तिम दिन आएछ जस्तो लाग्यो । यसैबेला राजाले आफ्नो औँठीमा लुकाएर राखेको शक्तिसाली मन्त्रको कुरा झल्यास्स सम्झे र खोलेर हेरे । कागजमा छोटो हरफ (मन्त्र) लेखिएको रहेछ – "यो अवस्था पनि बितेर जानेछ ।"
राजाले त्यो मन्त्र पटक पटक पढे र मनमनै भन्न थाले – 'हो त नि! यो अवस्था पनि बितेर जानेछ । भर्खरै केही दिन अघिसम्म म मेरो दरवारमा मोजमस्ती गरिरहेको थिएँ । म सर्वशक्तीमान थिएँ । तर अहिले यत्तिबेला ती सब मसँग केही छैनन् । बरू म दुश्मनहरुबाट कसरी ज्यान जोगाउँने भनि चिन्ता र आपतमा छु । तर मलाई लाग्छ जसरी मेरा मोजमस्तीका समय गुज्रेर गए त्यसरी नै यो मेरो आपतकालिन समय पनि बितेर जानेछ ।' यस्तो सोचेपछि राजाको अनुहार शान्त भयो । राजाले आफ्ना केही सेनासँग त्यहीँ उभिएर वरिपरिका सुन्दर दृश्यहरू हेर्न थाले । त्यति राम्रो प्राकृतिक दृश्य आफ्नै राज्यमा छ भन्ने कुरा उनले पहिले कहिल्यै सोचेका पनि थिएनन् ।
यसरी त्यो कागजको टुक्रामा लेखिएको सन्देश (मन्त्र)ले राजाको मनलाई धैर्य धारण गर्न अदभुत काम गरिदियो । जसले गर्दा राजाले आफ्ना दुश्मनहरूले आफुलाई पछ्याईरहेको बारे चिन्तै नलिई आनन्दसँग रहन सके । केहीबेर पछि कान लगाएर सुन्दा दुश्मनहरूको हल्लाखल्ला सुनिएन । हेर्दैजाँदा दुश्मनहरु कतै देखिएनन् ती अर्के बाटोतिर लागिसकेछन् । आपतकालिन समय बितेर गयो र राजाको ज्यान जोगियो ।
राजा एकदमै सहासी किसिमका थिए । त्यसैले उनले फेरि आफ्नो सैन्य शक्ति बढाएर दुश्मनहरुसँग युद्ध गरेर जिते र आफ्नो राज्य फिर्ता गरे । युद्ध जितेर फर्काँदा राजधानीमा सबै जनताले उनको भव्य स्वागत गरे । मुलुकभरि सबै खुशी भए । जनताले राजालाई फुल माला अबिरले पुरेर गाउँदै-नाच्दै खुशी व्यक्त गरे । राजाले मनमनै भने 'म एकजना बहादुर राजा हुँ । मलाई कसैले जित्न सक्दैन ।' तर त्यतिनै बेला आफ्नो औँठीभित्रको मन्त्र सम्झे – "यो अवस्था पनि बितेर जानेछ ।" त्यसपछि राजा झसङ्ग भए र फेरि शान्त भए । युद्धमा पाएको "जीत"ले उनको 'घमण्ड'भरिएको अनुहार विस्तारै 'नम्र' मानिसको अनुहारमा परिणत भयो । राजाले निचोड निकाले – 'यदि कुनैकुरा बितेर जान्छ भने यो त मेरो आफ्नो होइन । अर्थात 'हार' पनि मेरो होइन । 'जीत' पनि मेरो होइन । म त सिरिफ 'दर्शक' पो रहेछु । मैले हेर्दाहेर्दै सबै कुरा बितेर जाने रहेछन् । ओहो! म त सिरिफ 'दर्शक' मात्र रहेछु, सिरिफ 'साक्षी' मात्र रहेछु । 'जीवन' पनि आउँने र बितेर जाने रहेछ । 'सुख' पनि आउँने र बितेर जाँने, 'दुख' पनि जीवनमा आउँने र समयसँगै बितेर जाने रहेछ ।'
===========================
पृय पाठक, यो कथा पढिसकेपछि एकचोटि चुपचाप बसेर आफ्नो जीवनको समिक्षा गर्नोस् । तपाइँको जीवनमा कति सफलता र असफलताहरु आए र समयसँगै बितेर गए? तपाइँको जीवनमा पनि कति सुख-दु:ख आए र समयसँगै बितेर गए? सफलता, असफलता, सुख, दु:ख सबै क्षणिक त रहेछन् नि! ती सबै आउँदारहेछन् र समयसँगै बितेर जाँदारहेछन् ।
जन्मे पछि जीवन कुनै न कुनै किसिमले बितेर जानेनै रहेछ । दुनियामा सबै कुरा अनित्य रहेछन्, सबै कुरा परिवर्तनशील रहेछन् । तपाइँ आफ्नै ढंगले यो कुरा मनन् गर्नोस् । तपाइँले पनि थुप्रै परिवर्तनहरु देखिसक्नु भएकोछ । तपाइँले कति धोखा खाए पनि, असफलता सामना गर्नु परेपनि वा दु:खकष्ट झेल्नु परेपनि गुजारा गरेरै आउँनु भएकोछ । हाल विद्यमान तपाइँको जीवनको समस्या (यदि छ भने) पनि समयसँगै बितेर जानेछ । किनभने यो समसारमा कुनै पनि सुख वा दु:ख सदासदाका निम्ति हुन सक्दैन । जवानी र प्रौढता, बैँभव र गरिवी, हाँसो र रुवाई, सूख र दु:ख जीवनका दुइपाटा हुन् । कहिले कुन पल्टिदिन्छ कहिले कुन? यी दुबैले बेला बेला आफ्नो अनुहार देखाउँछन् तर बलवान समयले दुबैको अनुहार खोसेर लैजान्छ । हामी त केवल परिवर्तनका "सक्षी" मात्र हौँ । त्यसैले वर्तमानलाई अनुभुत गर्नोस्, त्यसलाई ठिक ढंगले बुझ्नुहोस् र उचित किसिमले भोग्नुहोस् । आत्तिने वा मात्तिने वा घमण्ड गर्ने वा लघुताभासमा जिउने कुनै कारण छैन । किनभने यो वर्तमान (?) पनि हेर्दा हेर्दै खोलाको पानीझैँ निरन्तर बगेर गईरहेछ । शायद वर्तमान भन्ने कुरा पनि हुन्न । किनभने "आँखा झिमिक्क गरिसक्ने बित्तिकै मैले आँखा झिमिक्क गरेँ" भनेर भुतकालमा हामीले बोल्नु पर्छ ।